TRENDING

आइतबार शेयर बजारमा सामान्य अंकको वृद्धि, कारोबार रकम भने १ अर्बमा सिमित

काठमाडौं । साताको पहिलो कारोबारको दिन (आइतबार) शेयर बजारमा सामान्य अंकले बढेको छ । नेप्से परिसूचक आज ६.६८ अंकले बढेर १९७७.३० को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सामान्य सुधार देखिएपनि कारोबार रकम भने खासै उत्साहजनक देखिएको छैन । आज शेयरबजारमा २८ लाख ७६ हजार २८८ कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब ७ करोड रुपैंया बढीको कारोबार भएको छ । आइतबार रु रु जलविद्युत परियोजनाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन सो स्टकको मूल्य ८९ रुपैयाँ ५० पैसा बढेर ९८४ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने जोशी हाइड्रोपावरको ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन शेयरमूल्य घटेका स्टकहरुको गिरावटदर भने कम रहेको छ । कारोबारमा आएको सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य यस दिन करिब ३ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन रिडी पावर शीर्ष स्थानमा रहेको छ। सो स्टकको यस दिन ८ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन नेपाल टेलिकम र नबिल बैंकको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १।८५ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। कारोबारमा आएका होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक यस दिन घटेको हो।