TRENDING

भारतमा बस दुर्घटना हुँदा चार जना नेपालीको मृत्यु

बाँके। भारतको उत्तर प्रदेशस्थित बाराबङ्कीमा बस दुर्घटना हुँदा चार जना नेपालीको मृत्यु भएको छ । नेपालगञ्जको सीमावर्ती बजार रुपैडियाबाट गोवा जान लागेको युपी ३२ पीटी ३९४४ नंको यात्रुवाहक बसलाई तीव्रगति आएको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको जनाइएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन । जसमा १४ जना नेपाली रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन । भारतीय प्रहरीका अनुसार डवलडेकरको बस बारबङ्की नजिकै टायर पञ्चर भएपछि परिवर्तन गर्न लाग्दा तीव्रगतिमा आएको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा परी बाँकेको राप्तीसोनारी गाउँपालिका बिनौना गाउँका प्रेम थारू, शीतल थारू र दाङ बेलतापुरका चक्रबहादुर वलीको मृत्यु भएको छ। एक मृतकको सनाखत हुनसकेको छैन।

दुर्घटनामा घाइते भएका ६ जनाको अवस्था जटिल रहेको जनाइएको छ। उनीहरूलाई थप उपचारका लखनउस्थित ट्रमा सेन्टर पठाइएको छ। अन्य आठ जना सामान्य घाइते छन्। उनीहरूको स्थानीय बाराबङ्कीस्थित जिल्ला अस्पतालमा उपचार गराइरहेको भारतीय प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।