TRENDING

ललितपुर क्षेत्र नम्बर ३ बाट जितजंग बस्नेतसहित चार जना सिफारिस

काठमाडौं । आउँदै गरेको प्रतिनिधि सभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि कांग्रेस केन्द्रीय सदस्य जितजंग बस्नेतसहित चार जना सिफारिसमा परेका छन । क्षेत्रीय समितिको बैठकले प्रत्यक्ष निर्वाचनका लागि पहिलो नम्बरमा बस्नेतलाई राखेर मदन बहादुर अमात्य, धना खतिवडा र विजया केसी श्रेष्ठको नाम सिफारिस गरेको हो । बस्नेत, अमात्य र खतिवडा कांग्रेस केन्द्रीय सदस्य हुन् । केसी प्रदेशसभा सदस्य छिन् ।

ललितपुर(३ मा कांग्रेसका केन्द्रीय सदस्यद्वय बस्नेत र अमात्यबीच प्रतिस्पर्धा छ । उनीहरु दुबै संस्थापन पक्षका भए पनि एकअर्कालाई स्वीकार्ने पक्षमा छैनन् । यसपटक सत्ता गठबन्धनबीच सिट बाँडफाँट हुँदा ललितपुर ३ कांग्रेसको भागमा परेमा टिकट पाउनका लागि बस्नेत र अमात्यबीच नै मुख्य प्रतिस्पर्धा हुने कांग्रेस नेताहरु बताउँछन ।

तरुण दलका पूर्व अध्यक्षसमेत रहेका बस्नेतले यसपटकको निर्वाचनमा अरुका लागि नछोड्ने बताए । ‘ललितपुर(३ मा यसपटक उठ्ने म नै हो, अरुलाई छोड्दिनँ,’ बस्नेतले अनलाइनखबरसँग भने, ‘मैले निर्वाचनको तयारी सुरु गरिसकेको छु ।’ कांग्रेस स्रोतका अनुसार बस्नेतलाई ललितपुर(३ मा निर्वाचनको तयारी गर्न पार्टी सभापति शेरबहादुर देउवाले निर्देशन दिइसकेका छन् । अघिल्लो निर्वाचनमा ललितपुर ३ बाट माओवादी केन्द्रकी पम्फा भुसाल विजयी भएकी थिइन । कांग्रेसका मदन अमात्य भुसालसँग पराजित भएका थिए ।