

काठमाडौं । गए रातिदेखि लागु हुने गरी नेपाल आयल निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँको दरले वृद्धि कायम गरेको छ ।
मूल्य बढेसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १७८ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १७२ थियो । पेट्रोल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाललाई यथावत राखिएको छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ८२ पैसा नाफा रहेकाले नबढाइएको निगमको तर्क छ ।
भारतको इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले गएराति १२ बजेदेखि लागु हुने गरी मूल्य वृद्धि गरेको हो ।
मूल्यवृद्धि गर्दा पनि अझै मासिक ६१ करोड घाटामा रहेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायको भनाइ छ । उपाध्यायका अनुसार नेपाल आयल निगमलाई खाना पकाउने एलपी ग्यासमा अझै प्रतिसिलिण्डर ३७८ रुपैयाँ ७ पैसा तथा डिजेलमा प्रतिलिटर ११ रुपैयाँ १८ पैसा घाटा छ । यस्तै पेट्रोलियम पदार्थ खरिद बापतको करिब २१ अर्ब आईओसीलाई तिर्न बाँकी रहेको पनि निगमले जनाएको छ ।
भारतबाट हरेक १५ दिनमा आउने मूल्य सूची अनुसार नेपालले पनि इन्धनको मूल्य समायोजन गर्दै आएको छ । भारतबाट मूल्य बढेर आएको बेला बढाउने र घटेर आएको बेला घटाउने गरी स्वचालित मूल्य प्रणाली लागू गरिए पनि आयल निगमले त्यसको पालना गरेको छैन । यसअघि मूल्य घटेर आउँदा नघटाएको र अहिले बढेर आएको भन्दै बढाएपछि नेपाल आयल निगमको आलोचना भएको छ ।
चाडबाडको मुखमा डिजेल र मट्टितेलको मूल्य बढाएर सरकारले सर्वसाधारण उपभोक्ता मर्कामा पारेको भन्दै आलोचना भएको छ । प्राय सबैजसो सार्वजनिक सवारी साधनमा डिजेल प्रयोग हुने गर्दछ । डिजेलको मूल्य बढेपछि यातायात व्यवसायी र ढुवानीकर्ताले पनि भाडा बढाउने गरेका छन् । त्यसको असर समग्र वस्तुको मूल्यमा पनि पर्ने हुँदा सार्वजनिक सवारी साधन प्रयोगकर्ता र उपभोक्ता मर्कामा पर्दै आएका छन् ।
अटोबाट थप समाचार
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
भिजिविलिटी कमजोर हुँदा कैयौँ हवाई उडान प्रभावित
देशका अधिकांश भागमा आज मौसम सफा रहने
सुनको भाउ एक हजार पाँच सय रुपैयाँले बढ्यो
२० वर्षमुनिको महिला साफ च्याम्पियनशिप बङ्गलादेशमा हुने
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७