TRENDING

पूर्वमन्त्री तथा माओवादी केन्द्रीय सदस्य रामसिंह यादवसहित दर्जनौ कार्यकर्ता एमाले प्रवेश

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री रामसिंह यादवसहित ३३ जनाले एमालेमा प्रवेश गरेका छन् । पूर्वराज्यमन्त्री यादवले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर पार्टी प्रवेश गरेका हुन् । ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालयमा आइतबार एक कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर
पोखरेलले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन् । माओवादी नेता यादवले नेपालका कम्युनिष्टहरूलाई एकताबद्ध गरेर देश समृद्ध बनाउन एमालेले मात्र सक्छ भन्ने निष्कर्षमा आफू पुगेको बताए । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केन्द्रीय सदस्य यादवसहित प्रदेश कमिटी सदस्य शिवकुमार कापर, सकलदेव रजक र धनुषाका दर्जनौँ जिल्ला कमिटी सदस्यले एमालेमा प्रवेश गरेको एमाले प्रचार विभाग सचिव गगन विष्टले जनाएका छन् ।

एमाले प्रवेश गर्दै यादवले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले तराईको विकासमा देखाएको चासोले आफू एमालेप्रति आकर्षित भएको बताएका छन् । नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै एमाले अध्यक्ष ओलीले पार्टीभित्र उचित जिम्मेवारी दिने जानकारी दिएका छन् ।