

भक्तपुर। नेपाली सुगम आधुनिक सङ्गीतका एक अमर गायक तथा सङ्गीतकार अरुण थापाको ‘२३ औँ स्मृति दिवस २०७९’का अवसरमा भक्तपुर साङ्गीतिक समाजको आयोजनामा ‘अरुण थापा स्मृति साँझ’ हुने भएको छ । समाजले थापाको स्मृतिमा लगातार पाँचौँ पटक स्मृति साँझ आयोजना गर्न लागेको हो । कार्यक्रममा भक्तपुरका स्थानीय कलाकारले स्व थापाका गीत गुनगुनाउने छन् ।
कार्यक्रममा सत्यनारायण मानन्धर, लक्ष्मण पलिखेल, राजेश शाही, रोशन धौभडेल, विनोदराज ढुङ्गेल, आधीश्री कसपाल र नवीन्द्रलाल कर्माचार्यले स्व थापाका गीत गाउने आयोजक समाजका अध्यक्ष प्रवीण शाहीले बताउनुभयो । त्यसैगरी वाद्यवादनमा गायकलाई कृष्णसुन्दर सुजखु, महेन्द्र सिंख्वाल, सरोज केसी, श्रीजल मधिकर्मी, अनिश शाक्य र यजु आर्चाले वाद्यवादनमा साथ दिनेछन् ।
कार्यक्रमलाई सिद्धि स्मृति प्रतिष्ठान, अक्सफोर्ड प्राक्टिकल इङ्लिस स्कुल, गुडविल कन्सन्टको सहयोग रहेको छ भने कार्यक्रमको रेडियो पार्टनर भक्तपुर एफएम १०५.४ मेघाहर्ज, टेलिभिजन पार्टनर भादगाउँ टेलिभिजन, मिडिया पार्टनर न्यूज अफ साप्ताहिक, फोटोग्राफी पार्टनर पिक्सेल्स इन्ग्राभर्स र साउण्ड पार्टनर आराधना सङ्गीत समूह रहेका छन् । वरिष्ठ सङ्गीतकार दीपक जङ्गमको प्रमुख आतिथ्यतामा आयोजना हुने कार्यक्रममा वरिष्ठ गीतकार दिनेश अधिकारीलाई ‘अरुण थापा स्मृति सम्मान २०७९’ले सम्मान गरिने समाजका अध्यक्ष शाहीले जानकारी दिनुभयो । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको शाहीले बताउनुभयो ।
कोरोना महामारीका कारण विगत दुई वर्ष कार्यक्रमलाई औपचारिकतामा सीमित गरिएको जानकारी दिँदै शाहीले यस वर्ष बृहत्रुपमा कार्यक्रम सम्पन्न गर्ने तयारी भएको बताउनुभयो । कार्यक्रम अक्सफोर्ड प्राक्टिकल इङ्लिस स्कुल सल्लाघारीको प्राङ्गणमा हुनेछ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं विश्वकै प्रदुषित शहर
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७