TRENDING

सेयर बजारमा बिहीबार सामान्य करेक्सन

काठमाडौं । गत सातादेखि लगातार उकालो लागिरहेको सेयर बजारमा बिहीबार सामान्य करेक्सन देखिएको छ । गत साताको मंगलबारदेखि निरन्तर बढेको सेयर बजारमा आज सामान्य गिरावट देखिएको हो । आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक ५.८७ अंकले घटेर २०४४.७२ बिन्दुमा ओर्लिएको छ । त्यस्तै ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ०.८६ अंकले घटेर ३९१ बिन्दुमा झरेको छ ।

कारोबार अवधिभर २२५ कम्पनीको ३९ लाख ८ हजार ३९५ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ६४ करोड २६ लाख ४८ हजार ५८७ रुपैयाँको कारोबार भएको छ । यस दिन १३ बैंकिङ र अन्य समूह बाहेक ११ उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ । ४७ कम्पनीको सेयरमूल्य बढेको छ भने १२६ कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

आज शिवम् सिमेन्टको सर्वाधिक १७ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ । आज सेन्ट्रल फाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त, नेसनल माइक्रोफाइनान्स, गुँरास लघुवित्त लगायत कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै, किसान लघुवित्त, साधना लघुवित्त सामुदायिक लघुवित्त लाइफ इन्स्योरेन्स लगायत कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।