TRENDING

जर्मनीले नेपालसँगको द्विपक्षीय सहयोगलाई निरन्तरता दिने

काठमाडौं । जर्मनीको आर्थिक सहयोग तथा विकास मन्त्रालयले नेपालसँगको द्विपक्षीय विकास सहयोगलाई सन् २०२३ पछि पनि निरन्तरता दिने भएको छ। नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटका क्रममा उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्।

भेटका क्रममा प्रिन्जले जर्मनीका चान्सलर ओलाफ शुल्जको पत्र पनि देउवालाई हस्तान्तरण गरेका थिए। पत्रमा जर्मनीले दिगो आर्थिक विकास, जलवायु, उर्जा, स्वास्थ्य र सामाजिक सुरक्षामा सहयोगलाई जारी राख्ने उल्लेख भएको नेपालस्थित जर्मनीको दूतावासले जनाएको छ।

भेटका क्रममा राजदूत प्रिन्जले द्विपक्षीय सहयोग जारी राख्ने निर्णयले आफू खुशी भएको बताउँदै यसले जलवायु परिवर्तनजस्ता महत्वपूर्ण चुनौतीहरुलाई संयुक्त रुपमा सामना गर्ने अवसर प्रदान गर्ने बताएका छन्।  द्विपक्षीय सरकारी वार्ताका लागि सन् २०२२ भित्रै जर्मनीको संघीय आर्थिक सहयोग र विकास मन्त्रालयका प्रतिनिधि नेपाल आउनेछन्।