TRENDING

उपत्यकामा थप २ जना गरि हालसम्म ४ जनामा हैजा देखियो,सतर्क हुन आग्रह

काठमाडौँ  । काठमाडौँ उपत्यकामा थप २ जनामा हैजा रोग देखिएको छ । हाल सम्म उपत्यकामा मात्र विभिन्न स्थानका चारजनामा हैजा पुष्टि भएको छ । ती चारै जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले उपचार भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख वसन्त अधिकारीले अहिलेसम्म चारजनामा हैजा भएको पुष्टि जानकारी दिए ।

उनका अनुसार बागबजारमा दुई, भोटेबहाल र डिल्लीबजारमा एक–एक जनामा हैजा देखिएको छ । फोहोर र प्रदूषित पानीका कारणले हैजा देखिएको हुन सक्ने भन्दै उनले काठमाडौँ हैजाको जोखिममा रहेको बताए ।

बागबजारका दिदीबहिनीमा धारा र ट्युवबेलको पानीबाट हैजा संक्रमण भएको पाइएको छ । उनीहरुले पिउने पानीको नमुना परीक्षण गर्दा इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा चुम्मनलाल दासले जानकारी दिए । विगतमा काठमाडौँमा लामो समयसम्म फोहोर नउठेको कारणले पनि हैजाको प्रकोप बढेको हुन सक्ने बताइएको छ ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । गर्मी र बर्खायाममा विशेषगरी झाडापखाला, हैजा तथा पानीजन्य रोगहरु फैलिने हुँदा सबैलाई सजक र सतर्क हुन आग्रह समेत मन्त्रालयले गरेको छ ।

काठमाडौँ हैजा