

काठमाडौं । बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दूध र पशु स्रोत केन्द्रलाई विनियोजन गरेको अनुदान रकम आगामी असारभित्र नै उपलब्ध गराउने गरी काम अघि बढाएको छ ।
पशुपक्षी तथा मत्स्यविकास निर्देशनालयमार्फत दिइने सो अनुदानबाट प्रदेशभित्रका एक लाखभन्दा बढी कृषक प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् । मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेका अनुसार दूधको अनुदानका लागि रु १६ करोड र पशु स्रोत केन्द्रका लागि रु एक करोड ६० लाख अनुदान रकम विनियोजन गरिएको छ ।
आज यहाँ पत्रकारसँग कुरा गर्दै पाण्डेले भन्नुभयो, “असारभित्रै हामी अनुदान रकम बाँड्ने गरी काम गर्दैछौँ ।” निर्देशनालयमा रहेका केही कर्मचारीले प्रक्रिया अघि नबढाएपछि कृषकको चौतर्फी दबाब परेको थियो ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका सचिव किशोर बगालेका अनुसार निर्देशनालयका कर्मचारीले काम नगरेका कारण प्रक्रिया अघि बढ्न ढिला भएको थियो । काम नगर्ने कर्मचारीलाई सरुवा गरेर अन्य कर्मचारी पठाउन दबाब दिएकै कारण निर्देशनालयले काम अघि बढाएको उहाँले बताउनुभयो ।
दूध अनुदानमा गत वर्ष चितवनका किसानले रु आठ करोड पाएका थिए । चितवनमा यस वर्ष १०४ सहकारी संस्थाले अनुदानका लागि आवेदन दिएका छन् । बगालेले भन्नुभयो, “आधाभन्दा बढी अनुदान रकम चितवनका किसानले पाउँछन् ।” निर्देशनालयले दूधमा गत वर्ष प्रतिलिटर रु दुई अनुदान दिएको थियो । त्यसका लागि कम्तीमा रु २२ करोड आवश्यकपर्ने उहाँ बताउनुहुन्छ ।
गत वर्षको जति नपाएपछि केही कम रकम पाउनेमा अब ढुक्क भएको उहाँको भनाइ छ । आफूहरुले दबाब नदिएको भए कृषक अनुदान पाउनबाट बञ्चित हुने अवस्थामा पुगिसकेको उहाँ बताउनुहुन्छ । सचिव पाण्डेले काम नगर्ने कर्मचारी सरुवा गरेपछि निर्देशनालयका कर्मचारीले अनुगमन थालेकाले असार लागेसँगै अनुदान रकम भुक्तानी गर्न सकिने बताउनुभयो ।
कृषकको चौतर्फी दबाबपछि मन्त्रालयले कर्मचारी सरुवा गरेर काम अघि बढाएको जनाएको छ । निर्देशनालयका सरुवा भएका कर्मचारीले आचरणविपरीत गोपनियता भङ्ग गरेको भन्दै मन्त्रालयले कारबाही प्रक्रियासमेत अघि बढाएको छ ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ र केरा व्यवसायी सङ्घले यहाँ पत्रकार सम्मेलनको आयोजना गरी मन्त्रालयले काम अघि बढाएकामा खुसी प्रकट गर्दै सबैलाई सहयोगका लागि अनुरोध गरेका थिए ।
अर्थ बाणिज्यबाट थप समाचार
म्यान्माको भूकम्पपीडितलाई एक करोड पाउण्ड दिने बेलायतको घोषणा
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७