TRENDING

मृतक मतदाताको नाम हटाइयो

नेपालगञ्ज ।  जिल्ला निर्वाचन कार्यालय बाँकेले स्थानीय तहबाट प्राप्त भएका मृतक मतदाताको नाम मतदाता नामावलीबाट हटाएको छ ।

यहाँका छ स्थानीय तहमध्ये कोहलपुर नगरपालिकाबाट ५९८, राप्ती सोनारी गाउँपालिकाबाट ७०४ र नेपालगञ्ज उपमहानगरपालिकाबाट १७१ सहित कूल एक हजार ४७३ मृतक मतदाताको नाम मतदाता नामावलीमा थियो । एक हजार १२६ जनाको अझै पनि मतदाता नामावलीमा नाम रहेको बताइएको छ ।

“हामीलाई स्थानीय तहले जसरी नाम पठाएको थियो, त्यसरी नै हामीले त्यसलाई अन्तिम नामावलीका रुपमा राख्यौँ”, जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमा पन्तले भन्नुभयो । उहाँले पालिकाले दिएको रेकर्डका आधारमा नै मतदाता नामावली अद्यावधिक गरिएको जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी युवराज पन्तले केही पालिकाले मृत्यु भइसकेका व्यक्तिको विवरण निर्वाचन कार्यालयलाई नबुझाउँदा मतदाताको अन्तिम नामावलीमा मृत्यु भइसकेका व्यक्ति पनि समावेश भएको बताउनुभयो ।

उहाँले नेपालगञ्ज उपमहानगरपालिकाका केही वडाबाट मात्रै विवरण आएको र पालिकाले पाँच वर्षमा मृत्यु भएका व्यक्तिको विवरण नै नपठाएपछि मतदाता नामावलीमा मृत्यु भइसकेका नाम उल्लेख भएको जानकारी दिनुभयो ।

सूचना अधिकारी पन्तले स्थानीय तहले पठाएको तीनपुस्ते विवरण र जिल्ला निर्वाचन कार्यालयले सङ्कलन गरेको मतदाता नामावलीसँग मेल खाएका आधारमा मृतक भनेर पहिचान गरी मतादाता नामावलीबाट नाम हटाइने काम भएको बताउनुभयो ।