

चितवन । भरतपुर महानगरपालिकामा विपन्न र घरबाट स्कूल जान भौगोलिक दूरी टाढा भएका ६० छात्रालाई साइकल वितरण गरिएको छ । महानगरपालिकाले जोखिममा परेका ‘महिलासँग मेयर’ कार्यक्रमअन्तर्गत साइकल वितरण गरेको हो ।
दुई वर्षअघिदेखि सुरु गरिएको कार्यक्रमअन्तर्गत यस पटक भरतपुरका वडा नं १८, १९ र २० का आठ विद्यालयका ६० छात्रालाई साइकल वितरण गरिएको हो । महानगरपालिकाको सामाजिक महाशाखाका अनुसार महानगरले हालसम्म ५२४ छात्रालाई साइकल प्रदान गरिसकेको छ ।
विद्यालय शिक्षामा छात्राको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीलाई साइकल हस्तान्तरण गर्ने महानगरको अघिल्लो आर्थिक वर्षको योजनाअन्तर्गत साइकल वितरण गरिएको महानगर प्रमुख रेनु दाहालले बताउनुभयो ।
महानगरले यस वर्ष १० वडाका २०० छात्रालाई साइकल वितरण गर्ने योजना बनाएको छ । बाँकी रहेका वडाका विद्यालयलाई केही दिनमा साइकल वितरण गरिने उहाँले बताउनुभयो । एक समारोहका बीच महानगर प्रमुख दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले संयुक्तरुपमा पश्चिम चितवनको भीमनगर माविबाट साइकल वितरण गरेको थियो ।
सो अवसरमा प्रमुख दाहालले विकासको गतिले अगाडि बढेको भरतपुरमा शैक्षिक सुधारका लागि स्थानीय सरकारले गर्नुपर्ने शैक्षिक सुधारकै कारण पाँच हजारभन्दा बढी विद्यार्थी सामुदायिक विद्यालयमा बढेको जानकारी दिनुभयो । उहाँले महानगरका विद्यालयलाई छात्रामैत्री र प्रविधिमैत्री बनाउन लागिपरेको बताउनुभयो ।
उहाँका अनुसार महानगरभित्रका सरकारी विद्यालयको शैक्षिकस्तर विकासका लागि भौतिक संरचना विकासमा धमाधम काम भइरहेको छ । उपप्रमुख ठकुरीले विपन्न परिवारका छात्रालाई लक्षित गरी गरिएको यो कार्यक्रमले छात्रालाई विद्यालयमा निरन्तरता गराउन धेरै प्रभावकारी हुने बताउनुभयो ।
उहाँले महानगरले छात्रालाई नै लक्षित गरी निःशुल्करुपमा सेनेटरी प्याड वितरणदेखि स्कुल बस प्रदानसहितका शैक्षिक सुधारका आधा दर्जन बढी काम गरेको बताउनुभयो । महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले महानगरको शैक्षिक सुधार नीतिले यहाँ शैक्षिक आर्कषण बढेको बताउनुभयो
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७