TRENDING

जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो

प्युठान । प्युठानमा बेहुली लिएर फर्कँदै गरेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ ।

प्युठानको गौमुखी गाउँपालिका ओखरपाटामा दुलही लिएर फर्कँदै गरेको जीप ग१ज ५०९२ नम्बरको जीप गए राति दुर्घटनामा परेको हो । जीप सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो । दुर्घटनामा ६ जनाको घटनास्थल र दुई जनाको विजुवार जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डिएसपी सत्यनारायण थापाले जानकारी दिनुभयो ।

मृतक मध्ये पाँच जनाको सनाखत भएको छ । मृत्यु हुनेमा ४० वर्षीया बसन्ती खड्का, ३० वर्षीया केशरी खड्का, अन्दाजी ५० वर्षीय बलबहादुर बुढामगर, ३२ वर्षीय खिमबहादुर खत्री, ५० वर्षीय नन्दी खड्काको रहेका छन् । अन्यको पहिचान खुल्न बाँकी छ । दुर्घटनामा घाइते भएका पाँच जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।