

म्याग्दी । मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले सुन्तला बिक्री गरी रु २१ लाख आम्दानी गरेका छन् ।
बीस परिवारको बसोबास रहेको दुवै बस्तीको मुख्य आयस्रोत सुन्तला खेती बनेको छ । भेडाबारीका अगुवा किसान ओम गिरीले यसपालि झण्डै तीस हजार किलो सुन्तला बिक्री भएको जानकारी दिनुभयो । “पोखराका व्यापारीले बगैँचाबाटै सुन्तला खरिद गरेर लगे,” उहाँले भन्नुभयो, “सरदर रु ७० प्रतिकिलोका दरले सुन्तला बिक्री भयो ।” एउटा परिवारले सरदर रु एक लाखभन्दा बढी आम्दानी गरेको उहाँले बताउनुभयो ।
गत वर्ष रु १५ लाख बराबरको सुन्तला बिक्री भएको थियो । अन्यत्रको सुन्तला बिक्री भइसकेपछि माघको दोस्रो हप्तादेखि भेडाबारीको सुन्तला टिपेर बजार पठाउन थालिएको थियो । पाँच मुरी कोदो फल्ने बारीमा सुन्तला खेती गरेर वार्षिक रु तीन लाखसम्म आम्दानी गरेको बेम गिरीले बताउनुभयो ।
“अन्नबालीभन्दा सुन्तलाबाट धेरै फाइदा छ,” उहाँले भन्नुभयो, “त्यही भएर मकै र कोदो लगाउन छाडेर सुन्तला लगाएका छौँ ।” उपयुक्त हावापानी र अनुकूल भूगोल भएकाले भेडाबारीमा सुन्तला खेती फस्टाएको हो । नयाँ बिरुवा थपिने क्रमसँगै वर्षेनि उत्पादन पनि बढेको छ । किसानले न्यूनतम एक सयदेखि ५०० बोटसम्म सुन्तला खेती गरेका छन् । उनीहरूले बगैँचाभित्र तरकारी, अदुवा र बेसार खेती गरेर अतिरिक्त आम्दानी पनि गरिरहेका छन् ।
सिँचाइ र सडक यातायातको समस्या भेडाबारी र भोर्लेनीको सुन्तला खेतीका लागि चुनौती बनेको छ । सुन्तला बिक्री र आवतजावतका लागि पोक हुँदै भेडाबारीसम्म निर्माण गरिएको सडक स्तरोन्नति हुन सकेको छैन् । भेडाबारीबाट सातबिसेसम्म गाडीमा ल्याएको सुन्तला म्याग्दी खोलामा पुल नभएकाले भरियामार्फत तोराखेतमा तारेर त्यहाँबाट गाडीमा राखेर बजार पठाउने गरिएको छ ।
सुन्तला बगैँचामा सिँचाइ गर्न समस्या छ । लामो सुख्खा र खडेरीसँगै सुन्तला खेतीमा सिँचाइ पुर्याउन समस्या भएको स्थानीय गणेश गिरीले बताउनुभयो । बाबियाचौरको माटेबगर र अर्मनको पोक जोड्ने मोटरेबल पुल निर्माण सम्पन्न गराउन पहल तथा समूहमार्फत भोर्लेनी र भेडाबारीमा सिँचाइ आयोजना निर्माणको तयारी भएको गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले बताउनुभयो ।
प्रदेश ५बाट थप समाचार
लुम्बिनीमा पर्यटकलाई स्थानीय उपहार
अभिभावक गुमाएका बालबालिकालाई गाउँपालिकाले पढाउने
लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढ्दो
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७