TRENDING

आठ स्थानका खनिज अध्ययन तथा उत्खननका लागि अनुमति

काठमाडौँ । खानी तथा भूगर्भ विभागले देशभरका आठ स्थानको खनिज अध्ययन तथा उत्खननका लागि अनुमति प्रदान गरेको छ ।

विभागले देशभरका आठ स्थानको चुनढुङ्गा, मार्बल, काउलिङ, बालुवा र तामालगायतका खनिज पदार्थको उत्खनन तथा अध्ययनका लागि विभिन्न कम्पनीलाई अनुमति प्रदान गरेको हो ।

विभागका अनुसार धादिङको तान्द्राङगढीमा सर्वोत्तम सिमेन्ट र जुरेथुमममा शक्ति सिमेन्ट उद्योगलाई उत्खननका लागि अनुमति प्रदान गरिएको विभागका प्रवक्ता जयराज घिमिरेले जानकारी दिनुभयो ।

यसैगरी, मकवानपुरस्थित दामनको काउलिङ र बागलुङ ओखर बोटको तामा अध्ययनका लागि क्रमशः सिमभञ्याङ प्राइम रिसोर्सेज प्रालि र डोङ्गी मिनरल प्रालि काठमाडौँलाई अनुमति प्रदान गरिएको छ ।

कूल १३ स्थानको खानी उत्खनन तथा अनुमतिका लागि बोलपत्र आह्वान गरेको विभागले चार वटा स्थानमा निवेदन नपरेको र एक स्थानको लागि आवेदन रद्द भएको विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।