

काठमाडौं । झाडापखालाविरुद्धको दुई लाख ५२ हजार ३६३ मात्रा खोप नेपाल आएको छ । कपिलवस्तुको हैजा प्रभावित क्षेत्रका बासिन्दालाई अर्को हप्ताबाट कोलेराविरुद्धको खोप दिइँदैछ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आइतबार युनिसेफ र विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिले मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई कोलेराविरुद्धको खोप हस्तान्तरण गरे । युनिसेफका नेपाल निर्देशक इल्केविस र विश्व स्वास्थ्य सङ्गठनका खोप प्रमुख डा. विनोद बुराले सचिव पोखरेललाई खोप हस्तान्तरण गरेका हुन् ।
कतार एयरको नियमित उडानबाट दुई लाख ५२ हजार ३६३ मात्रा खोप दिउँसो ३ बजे काठमाडौँ आइपुगेको हो । सनोफी हेल्थ केयर इन्डिया प्रालिले बनाएको उक्त खोप विश्व स्वास्थ्य सङ्गठन, गाभी र युनिसेफको सहयोगमा नेपाल आएको हो । कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले खोप काठमाडौँ आइसकेकोले अर्को हप्ता कपिलवस्तुका हैजा प्रभावित पाँचवटा पालिकाका स्थानीयवासीलाई लगाइने बताए । खोप एक पटक लगाएपछि पाँच वर्षसम्म सुरक्षित रहने विभिन्न अध्ययनले देखाएको उनले जानकारी दिए ।
खोपको आवश्यक तयारी पूरा
जिल्लामा फैलिएको हैजा नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु खोप लगाउने तयारीमा जुटेको छ । आइतबार जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा जिल्ला खोप समन्वय समितिको बैठक बसी खोप अभियान सुरु गर्ने निर्णय गरिएको छ । प्रकोप फैलिएको पालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहितको बैठक बसी खोप लगाउने र नियन्त्रणका योजना बनाइएको छ । जिल्लामा कृष्णनगर नगरपालिका, शिवराज नगरपालिका, महाराजगञ्ज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिका हैजा प्रभावित क्षेत्र रहेका छन् ।
ती पालिकाका एक वर्षदेखि माथिका सबै नागरिकलाई खोपको दायरामा ल्याई हैजा नियन्त्रण गर्न मङ्सिर ५ गतेदेखि यशोधरा गाउँपालिकाबाट खोप अभियान सुरु गरिने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेयले बताए । अन्य चार पालिकामा मङ्सिर ७ गतेदेखि खोप सञ्चालन हुने बताइएको छ । खोप अभियानमा शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी छ दिनसम्म लगातार चलाइने जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताए ।
जिल्लाका लागि दुई लाख ५२ हजार ३६३ मात्रा खोप उपलब्ध हुने स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताए । यशोधरा गाउँपालिकामा ३७ हजार ७८३, महाराजगञ्ज नगरपालिकामा ५३ हजार १५६, कृष्णनगर नगरपालिकामा ६० हजार ७४३, शिवराज नगरपालिकामा ६४ हजार ७७८ र विजयनगर गाउँपालिकामा ३५ हजार ९०३ मात्रा खोप वितरण हुने बताइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा विश्व स्वास्थ्य सङ्गठनबाट उपलब्ध गराइएको ‘ओरल कोलेरा भ्याक्सिन’ पहिलो मात्रा लाएको १४ दिनपछि दोस्रो पटक पुनः लगाउनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क आइतबार साँझ ६ बजेसम्म शिवराज अस्पताल बहादुरगञ्जमा एक हजार ३७१, बैदौली स्वास्थ्य चौकीमा ९० र शिवराज आधारभूत अस्पतालमा छ जना उपचारका लागि भर्ना भएका थिए । जिल्लामा हैजाका कारण ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ । गोरखापत्र दैनिकमा सरोज ढुङ्गेल/जानु पाण्डेले खबर लेखेका छन् ।
मुख्य समाचारबाट थप समाचार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७