

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले १४औं महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ । कांग्रेसले २४ देखि २६ मंसिरसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि विभिन्न समिति तथा उपसमिति बनाएको हो ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आइतबार बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले मूल तयारी समिति र विभिन्न उपसमिति गठन गरेको हो । कांग्रेसले सभापति देउवाकै नेतृत्वमा मूल समिति बनाएको छ ।
देउवा नेतृत्वको मूल समितिमा पार्टीका केन्द्रीय सदस्य, सांसद, प्रदेश संसदीय दलका नेतालगायत सदस्य रहनेछन् ।
यसैगरी, विधानले व्यवस्था गरेको नयाँ संरचनाअन्तर्गत प्रदेश तहको संरचनाको अधिवेशनका लागि कांग्रेसले सातै प्रदेशमा केन्द्रीय संयोजकसमेत तोकेको छ ।
कांग्रेसले सातै प्रदेशको प्रदेश तहको अधिवेशन सम्पन्न गराउने जिम्मेवारीसहित प्रदेशमा संयोजक तोकेको हो ।
केन्द्रीय सदस्य नेता मीन विश्वकर्माका अनुसार प्रदेश १ को संयोजकमा नेता कृष्णप्रसाद सिटौला तोकिएका छन् । यस्तै, प्रदेश २ को संयोजक रमेश रिजाललाई बनाइएको छ ।
यसैगरी, बाग्मती प्रदेशको संयोजकमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, गण्डकी प्रदेश संयोजकमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा गृहमन्त्री बालकृष्ण खाण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशको संयोजमा दिलेन्द्रप्रसाद बडु तोकिएका छन् ।
कांग्रेसले महाधिवेशनका लागि अर्थ संकलनको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई दिएको छ भने भोजन तथा आवास समितिको जिम्मा नेता सुरेन्द्रराज पाण्डेलाई दिएको छ ।
यसैगरी, सहमहामन्त्री डा. प्रकाशशरण महतलाई विदेशी पाहुना स्वागतको जिम्मेवारी तोकिएको छ । यस्तै, प्रचारप्रसारको जिम्मेवारी प्रवक्ता विश्वप्रकाश शर्मालाई दिएको छ ।
स्वास्थ्य क्षेत्रको उपसमितिको जिम्मेवारी मोहनबहादुर बस्नेतलाई दिइएको छ भने उद्घाटन सत्रका लागि सांस्कृतिक समितिको जिम्मेवारी केन्द्रीय सदस्य सीता गुरुङलाई दिएको छ ।
यस्तै, महाधिवेशनको मञ्च व्यवस्थापनका लागि काठमाडौं जिल्ला सभापतिको संयोजकत्वमा भक्तपुर र ललितपुरका सभापति सदस्य रहनेगरी समिति बनाइएको छ । राजधानी दैनिकमा खबर छ ।
कुन प्रदेशमा को भए संयोजक ?
प्रदेश १ कृष्णप्रसाद सिटौला
प्रदेश २ रमेश रिजाल
बाग्मती प्रदेश प्रकाशमान सिंह
गण्डकी प्रदेश गोपालमान श्रेष्ठ
लुम्बिनी प्रदेश बालकृष्ण खाण
कर्णाली प्रदेश जीवनबहादुर शाही
सुदूरपश्चिम प्रदेश दिलेन्द्रप्रसाद बडु
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७