TRENDING

स्रोत-साधनको उचित व्यवस्थापन गर्न नसक्दा मुलुकले गरिबी व्यहोरिरहेको छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशमा भएका स्रोत-साधनहरूको उचित व्यवस्थापन तथा परिचालन गर्न नसक्दा मुलुकले गरिबी व्यहोर्नुपरिरहेको बताएका छन् ।

बिहीबार नेकपा (माओवादी केन्द्र) कागेश्वरी मनोहरा नगर समितिले आयोजना गरेको नेपाल संवत्, तिहारलगायत पर्वको शुभकामना आदानप्रदानमा उनले गरिबीको अवस्थाबाट मुक्त हुन सरकारमा बस्नेहरूले जनताको शासक नभई सेवकका रूपमा रहेर काम गर्नुपर्ने बताए ।

‘‘पेट्रोलदेखि अरू सबै कुरा नेपालमै छ । तर, त्यसको उचित प्रयोग, सञ्चालन, व्यवस्थापन गर्ने कमी-कमजोरी र सत्तामा रहेकाहरूले त्यसतर्फ ध्यान नदिँदा आज समाजले गरिबीको अवस्था व्यहोरिरहेको अवस्था छ,’’ उनले भने, ‘‘यो गरिबीको अवस्थाबाट मुक्त हुनका लागि अब सरकारमा बस्नेहरू जनताको शासकका रूपमा होइन, सेवकको रूपमा रहनुपर्छ ।’’

उनले मुलुकलाई आत्मनिर्भर बनाउन सरकारले नीति बनाएर मात्र नहुने बताए । मुलुकलाई आत्मनिर्भर बनाउन सरकारको नीति कार्यान्वयनसँगै राष्ट्र निर्माणका लागि हरेक नागरिकले संकल्प गर्नुपर्ने उनको भनाइ छ ।

‘‘उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि सरकारले नीति बनाएर मात्र हुँदैन, सरकारको नीति कार्यान्वयनका लागि हरेक नागरिकले राष्ट्र निर्माणको संकल्प गर्न आवश्यक छ,’’ उनले भने ।