TRENDING

विपक्षीको नाराबाजीबीच विनियोजन विधेयक बहुमतले पारित

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका बीच विनियोजन विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । सभामा विधेयकको मन्त्रालयत शीर्षक माथिको छलफल भएको थियो । सो पश्चात् अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिएका थिए ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेको खर्च कटौती सम्बन्धी प्रस्ताव सभामुखले निर्णयार्थ पेश गरेका थिए । सो प्रस्ताव अस्विकार भएको थियो । तत्काल अर्थमन्त्री शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । एमालेको नाराबाजीका बीच पनि सो विधेयक बहुमतले पारित भएको हो ।

हालको बजेट होलिडेको अन्त्यका लागि अझै केहि प्रक्रियागत कार्यहरु बाँकि छन् । प्रतिनिधी सभाबाट पारित यो विधेयक अब राष्ट्रियसभामा जान्छ । राष्ट्रियसभाले पारित गरेर पुनः प्रतिनिधिसभामा नै पठाउँछ । त्यसलाई स्वीकार गरेर प्रतिनिधिसभाले सभामुख मार्फत् राष्ट्रपतिकहाँ पठाउँछ , सो पश्चात् बजेट कार्यान्वयनमा आउँछ ।

विनियोजन विधेयकमाथिको छलफलको सबै प्रक्रियामा नेमकिपाका सांसद प्रेम सुवाल एक्लैले सहभागिता जनाएका थिए। प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरु नारावाजीमा केन्द्रित भए । सत्तारुढ गठबन्धनका कुनै पनि सांसदले छलफलमा भाग लिएनन् ।