

डम्बर खतिवडा (अग्रपथ)
एमसीसी, एमसीसी, एमसीसी ! यता फर्कियो एमसीसी, उता फर्कियो एमसीसी ! समाचार र सामाजिक सञ्जालमा एमसीसी, व्यक्तिगत भेटघाट र कुराकानीमा एमसीसी ! औपचारिक कार्यक्रममा एमसीसी, चियापसलमा एमसीसी ! मानौं कि एमसीसी निकै ठूलै/गतिलै खजाना हो । छिचोल्नै/बुझ्नै नसकिने असवाफको रहस्य हो । मानौं, एमसीसी धपाउन सके ठूलै बहादुरी/पराक्रम हुन्छ । मानौं, एमसीसी लागू भए देश रातारात ‘स्वर्ग’ हुन्छ । एमसीसीको समर्थन वा विरोधमा मानिस यति धेरै विभक्त, ध्रुवीकृत, उत्तेजित वा संवेदनशील हुन सक्दछन्- यस्तो सोचिएनछ ।
जटिल नबनाइकन सोच्ने हो भने एमसीसी जम्माजम्मी ५० करोड युएस डलरको अनुदान सहायता हो । नेपाल सरकारले १३ करोड थप्नुपर्ने हो । ६३ करोड डलरको एक विकास योजना हो । यो पाँच वर्षभित्र विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नतिमा खर्च हुनुपर्ने हो । त्यसपछि एमसीसी फर्किन्छ । सुनौली-गोरखपुर १२० किमी विद्युत् प्रसारण लाइन भारततिर हुन्छ । अरू सबै निर्माण पूर्वाधार नेपालमै हुन्छन् । नेपाल सरकारलाई कुनै अप्ठ्यारो पर्यो वा आपत्ति आइलाग्यो भने ३० दिने सूचना दिएर एमसीसी सम्झौता खारेज गर्न सक्दछ ।
केही हैन भनौं यति ठूलो रकमको अनुदान सहायता एकमुष्ट आजसम्म नेपालले अरू कुनै देश वा अन्तर्राष्ट्रिय दातृ संस्थाबाट पाएको थिएन । तर, यतिले देश रातारात स्वर्ग हुने पनि हैन । तोकिएका योजना बन्ने हुन् । पूर्वाधार थपिने हो । नेपालको पूर्वाधार निर्माणमा एउटा इँटा थपिने हो ।
यस्ता सम्झौता आजसम्म कति भए कति । तर विवादमा आएनन् । किनकि ती संसदमा ल्याइँदैनथे । नागरिकलाई थाहै हुन्थेन । क्याबिनेटबाट पारित भएर अर्थ मन्त्रालयमा थन्किने हजारौं सम्झौतामा के-के लेखिएको छ, न कसैले खोजेको छ, न कुनै विवाद भएको छ । तर, एमसीसी चर्चाको शिखरमा आयो । किनकि यसमा संसदबाट पारित गर्नुपर्ने प्रावधान छ ।
गत हप्ता एक कार्यक्रममा भाग लिन हेटांैडा पुगेको थिएँ । त्यहाँ पनि त्यही देखें । गर्नुपर्ने महत्वका कुरा अरू धेरै थिए । सहभागीको ध्यान भने एमसीसीमा थियो । प्रायोजित हो वा स्वतस्फूर्त- एमसीसी विरोधी प्रोपोगण्डा र भावना सोचेभन्दा धेरै तलसम्म, जनस्तरसम्म पुगेको रहेछ । सामान्यतः निम्न तर्कहरू मैले सुनें –
एक- एमसीसी सन् १६०० मा स्थापना भएको बेलायतको इष्ट इन्डिया कम्पनी जस्तै अमेरिकाको चार्टर्ड कम्पनी हो । यसले विभिन्न बहानामा विभिन्न देशहरूमा प्रवेश गर्दछ । विस्तारै त्यहाँको अर्थतन्त्र र राजनीतिलाई नियन्त्रण वा प्रभावित गर्दछ । र, देशहरूलाई नयाँ प्रकारले उपनिवेश बनाउँछ । एमसीसी नेपाल आउनुको अर्थ इष्ट इन्डिया कम्पनीले भारतलाई उपनिवेश बनाए जस्तै नेपाललाई उपविनेश बनाउनु हो ।
दुई- नेपालमा पर्याप्त युरेनियम छ । यो अणुबम, मिसाइल, तोपबारुद बनाउन प्रयोग हुन्छ । अमेरिकाको युरेनियमको स्टक सकिंदै गएको छ । तसर्थ, अमेरिका नेपालमा युरेनियमको सर्वेक्षण, उत्खनन्, उत्पादन गर्न चाहन्छ । एमसीसी नेपाल आउनुको एक कारण युुरेनियम हो ।
तीन- एमसीसीले अमेरिकी सेनालाई नेपाल आउने वैधानिक तथा कानूनी आधार दिन्छ । अमेरिकी सेना नेपाल आउन आतुर छ । अमेरिकी सेनाले नेपालमा बंकर, सैन्य शिविर, लडाकु विमानको एअरपोर्ट बनाउने छ । विशेषतः मुस्ताङ, हुम्ला जस्ता जिल्लामा ती बनाइने छन् । अमेरिकी सेनाले यहाँका कम्युनिष्टहरू माथि दमन गर्नेछ । नेपाल अफगानिस्तान जस्तै हुनेछ ।
चार- अमेरिका चीनलाई घेर्न नेपालको भूमिलाई उपयोग गर्न चाहन्छ । नेपालमा बनाइने सैन्य क्याम्पबाट चीनमाथि आक्रमण गर्न सजिलो हुन्छ । एमसीसी इन्डो-प्यासिफिक रणनीतिको अभिन्न अंग हो । अमेरिकाले विस्तारै नेपाललाई ‘क्वाड’ मा लिएर जान्छ । चीनलाई ध्वस्त नगरुन्जेलसम्म अमेरिका नेपालबाट फर्किंदैन ।
पाँच- एमसीसी विकास सहयोग हो भने संसदबाट अनुमोदन किन चाहियो ? युसएडबाटै संसदमा अनुमोदन गर्नु नपर्ने गरी दिए भयो नि ? संसदबाट पारित हुने बित्तिकै यो कानून हुन्छ । अन्तर्राष्ट्रिय सन्धि सरह हुन्छ । त्यसैले सहयोग नै लिने हो भने पनि संसदबाट चाहिं पारित गर्नुहुँदैन । एमसीसी नेपालले मागेको हैन, अमेरिका आफैं दिन आएको हो । नत्र नेताहरूको घरघरै पुगेर फतिमा जे. सुमारले ‘एमसीसी लिइदेऊ’ किन भन्नुपर्यो ?
यी तर्कहरू एउटा सेटमा, शृङ्खलामा सविस्तार भन्दा निश्चय नै प्रभावशाली हुन्छन् । यी तर्क काट्न र प्रतिउत्तर गर्न कसैलाई सजिलो हुँदैन । साँच्चै नै यस्तै हुने हो भने एमसीसी कसैलाई चाहिएको छैन । विश्व इतिहासको विकासक्रम हेर्दा मानिसमा यस्तो भान वा प्रतीत हुनु अस्वाभाविक पनि हैन । यी र यस्ता कुरा विश्व इतिहासमा हुँदै नभएका हैनन्, भविष्यमा फेरि कहिल्यै हुने छैनन् भनेर कसैले ग्यारेन्टी गर्न सक्दैन । तसर्थ, एमसीसी विरुद्धमा उपरोक्त तर्क गर्नेहरू सबै मूर्ख वा कुरै नबुझ्ने हुन् म भन्दिनँ ।
तर, समकालीन विश्व परिवेशको जमिनी यथार्थमा संपरीक्षण गर्ने हो भने यस्ता तर्कहरू संगतिपूर्ण वा विश्वास गर्न सकिने भने लाग्दैनन् ।
प्रथमतः एमसीसीबारे जनस्तरमा यति धेरै विरोधी भावना फैलिइसक्दा पनि यसको नैतिक दायित्व लिनुपर्ने पक्षहरू भने राम्ररी बोल्न सकेका छैनन् । बरु उल्टै डराइरहेका छन् । एमसीसी समर्थक र विरोधी भनेर हरेक पार्टीमा सानो ठूलो कित्ता बनेको छ । पार्टीका कार्यकर्ता एकअर्कालाई गाली गर्दैछन् । ‘एमसीसी लिए हुन्छ’ भन्नेहरूले देश बेचुवा, राष्ट्रघाती, देशद्रोहीको गाली खानुपर्ने स्थिति छ । यस्तो बेला गालीको घानमा पर्नुभन्दा मौन बस्नु नै उचित भनेर कैयौं मानिस ‘स्व-सेन्सर’ र मौन बसेका छन् ।
राष्ट्र यति गहिरो बहसमा फसेको बेला कुनै पनि सार्वजनिक महत्वको व्यक्ति वा संस्था मौन बस्नु उचित हैन । पार्टीहरूको आधिकारिक धारणा नबन्नु र आफ्ना धारणाबारे खुलेर जनतासँग संवाद गर्ने आँट नेताहरूमा नहुनु आफैंमा आश्चर्यजनक र गैरजिम्मेवार कुरा हो ।
एमसीसीको पृष्ठभूमि हेर्दा यो सन् १६०० को बेलायती इष्ट इन्डिया कम्पनी जस्तो व्यापारिक चार्टर्ड कम्पनीको हो भन्ने आधार छैन ।
एक्काइसौं शताब्दीको विश्व चेतना र शक्ति सन्तुलनलाई सत्रौं शताब्दीको पुनरावृत्तिका रूपमा हेर्नु शायद युक्तिसंगत हुँदैन । एमसीसी सन् २००३ मा अमेरिकी संसदले पारित गरेको ऐन अनुसार सन् २००४ मा गठन भएको देखिन्छ । आधिकारिक र लिखित दस्तावेजलाई नपत्याउने हो भने भिन्नै कुरा, अन्यथा यो इष्ट इन्डिया कम्पनी जस्तो हैन । यसले सहस्राब्दी विकास लक्ष्य हासिल गर्न अल्पविकसित अवस्थामा रहेका लोकतान्त्रिक मुलुकहरूलाई आर्थिक तथा पूर्वाधार विकासमा सहयोग गर्ने लक्ष्य राखेको देखिन्छ ।
घटनाक्रमको शृङ्खलावद्ध अध्ययन गर्दा एमसीसी आफैं नेपाल आएको हो । नेपाललाई खोज्दै रोज्दै आएको हो भन्ने पुष्टि हुँदैन । नेपालको तर्फबाट एमसीसीसँग पहिलो सम्बन्ध आफूले बनाएको भनेर अमेरिकाका लागि तत्कालीन नेपाली राजदूत शंकर शर्माले एक लेखमा स्वीकार गरेका छन् । एमसीसीको प्रावधान हेर्दा नेपाललाई मात्र लक्षित गरेको हो भनेर पत्याउन सकिन्न । एमसीसीले छानेका ४९ देशभित्र नेपाल एक छ । कतिपय देशमा एमसीसी लागू भइवरी पाँच वर्ष पूरा गरेर फर्किसकेको छ ।
अमेरिकाको एक कम्पनीले केही रकम दिएकै भरमा यति धेरै देशलाई एकैपटक उपनिवेश बनाउने कुरा समकालीन विश्व-राजनीतिमा असम्भव हो । समकालीन विश्व बहुध्रुवीय र लोकतान्त्रिक विश्व हो । अमेरिकी सेना २० वर्षदेखि बसेको अफगानिस्तान त छोडेर हिंड्यो, तुरुन्तै नेपाल सहित ४९ देशमा सेना पठाउँदैछ भन्ने कुरा विद्यमान विश्व-राजनीतिको जटिलता, यथार्थ र शक्ति सन्तुलन बुझेको कुनै पनि मानिसले पत्याउन सक्दैन ।
नेपालमा युरेनियमको सम्भावना के कति हो, यो यस पंक्तिकारको विशेषज्ञता र ज्ञानको विषय परेन । उद्योग मन्त्रालय र खानी तथा भूगर्भ विभागले यसबारे जनतालाई प्रष्ट पार्नु उचित हुन्छ ।
जहाँसम्म पार्टी-पार्टी बीचको आरोप-प्रत्यारोप छ- संसदभित्र भएको कुनै पनि पार्टी र नेतालाई त्यसो गर्ने नैतिक आधार उपलब्ध छैन । संसदमा नभएका र अमेरिकालाई सर्वथा ‘साम्राज्यवादको नाइके’ देख्ने सिद्धान्त नै बनाएका विप्लव जस्ता पार्टीले त्यसो भन्नु स्वाभाविक हो । उनीहरूले आफ्नो सिद्धान्त अनुरूपको प्रोपोगण्डा गर्ने नै भए । तर, संसदभित्र भएको अझ २०६८ सालयता कुनै न कुनै सरकारमा संलग्न र साझेदार भएको पार्टीले त्यसो भन्ने कुनै नैतिक तथा राजनीतिक आधार उपलब्ध छैन ।
अर्थ मन्त्रालयको अभिलेख हेर्दा एमसीसीसँग प्रारम्भिक सम्पर्क डा. बाबुराम भट्टराई प्रधानमन्त्री र अर्थमन्त्री वर्षमान पुनले गरेको प्रष्टै छ । यहाँनेर के बुझ्न जरूरी छ भने प्रारम्भिक सम्पर्क गर्नेले नै सम्झौता पत्र लेखेको हुँदैन । सार्वजनिक प्रश्न उठिसक्दा पनि वर्षमान पुन यसबारे मौन छन् । डा. बाबुराम भट्टराईले भने आफ्नो नैतिक उत्तरदायित्व लिएको देखिन्छ ।
त्यसपछि खिलराज रेग्मी, सुशील कोइरालाको सरकारले यो प्रक्रिया अघि बढाए । रेग्मी कुनै दलमा छैनन् । उनीबाट कुनै राजनीतिक उत्तरदायित्वको अपेक्षा पनि छैन । नेपाली कांग्रेस भने एमसीसीको पक्षमा देखिएको छ । तसर्थ कांग्रेस नैतिक दायित्वबाट भागेको भन्न मिल्दैन ।
एमसीसी वार्ता टोली गठन, संवाद र सम्झौतापत्रको मस्यौदा भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री कृष्णबहादुर महराको कार्यकालमा भएको हो । तसर्थ, ओली सरकारले एमसीसी संसदमा पेश गर्दा रोकेर तत्कालीन सभामुख कृष्णबहादुर महराले गैरजिम्मेवार काम गरेका थिए । आफैं अर्थमन्त्री हुँदा मस्यौदा भएको सम्झौताबारे उनी जानकार थिएनन्, सीआईएले षड्यन्त्र गरेर महरालाई ‘यौनकाण्ड’ मा फसाएको हो जस्ता तर्क आफैंमा घटिया र बेतुकका हुन् । आफू प्रधानमन्त्री हुँदा एमसीसीको प्रक्रिया के कति बढेको हो वा हैन, यसको सार्वजनिक स्पष्टीकरण प्रचण्डले दिनै पर्छ । पानीमाथिको ओभानो बन्न खोजेर हुँदैन ।
जहाँसम्म केपी ओली र विष्णु पौडेलको कुरा छ- उनीहरूलाई एमसीसी प्रकरणमा धेरै जोड्न आवश्यक छैन । उनीहरूले एमसीसीसँग सम्बन्ध प्रारम्भ गरेका पनि हैनन् । सम्झौता मस्यौदा गरेका पनि हैनन् । अन्तिम रूप दिने र हस्ताक्षर गरेका पनि हैनन् । सम्झौतालाई अन्तिम रूप दिंदा र हस्ताक्षर गर्दा प्रम शेरबहादुर देउवा र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की थिए । ओलीले एमसीसी संसदमा ल्याइदिएकै थिए । त्यसलाई निर्णयार्थ प्रस्तुत नगरेर सभामुखहरूले गल्ती गरेका हुन् ।
सरकारले संसदमा टेबुल गरेको कुनै पनि प्रस्ताव सधैंलाई रोकेर राख्ने अधिकार संसदीय व्यवस्थामा सभामुखलाई हुँदैन । केही दिन पर सार्ने र परामर्श गर्नेसम्म भिन्नै कुरा हो ।
संसदमा प्रस्तुत हुनु भनेको पारित नै हुनुपर्दछ भन्ने हैन । संसदले त्यसलाई फेल पनि गर्न पाउँदछ । संसदमा पेश भएको भए छलफल हुन्थ्यो । कुन पार्टीले पक्ष वा विपक्षमा मतदान गर्थे जनताको आँखामा प्रष्ट हुन्थ्यो । पारित भएको भए कार्यान्वयन हुन्थ्यो, पारित नभएको भए एमसीसी फिर्ता जान्थ्यो । यो अध्याय नै समाप्त हुन्थ्यो । यसरी प्रक्रियाले सजिलै निर्णय गर्ने विषयलाई चार वर्षदेखि अल्झाएर राख्नु महरा र अग्नि सापकोटाले कुनै राम्रो काम गरेको मान्न सकिन्न । एमसीसीलाई गिजोलेर राख्दा कसैलाई कुनै फाइदा हुँदैन/भएको छैन ।
ओली प्रतिगमन विरुद्धको संघर्षमा घरेलु मुद्दा नै पर्याप्त थिए । तत्कालीन नेकपाभित्र एमसीसीलाई ओली विरुद्धको हतियार बनाउन जरुरी थिएन । प्रचण्ड, माधव नेपाल र झलनाथ खनालले भीम रावललाई प्रयोग गरेर ओली विरुद्ध एमसीसी प्रयोग गर्न खोजे र आफैं अप्ठ्यारोमा परे । घरेलु राजनीतिमा कूटनीतिक, रणनीतिक महत्वको विषयलाई प्रयोग गर्नुहुँदैन भन्ने ज्ञान तत्कालीन नेकपा नेताहरूलाई भएन । तत्कालीन नेकपामा जुन एमसीसी अध्ययन कार्यदल बनाइयो तर कुनै प्रष्ट ठहर आएन, एमसीसी त्यहींबाट गिजोलिन थालेको हो ।
एमसीसी संसदमा पेश भए ओली र एमालेले विपक्षमा मतदान गर्ने नैतिक अधिकार राख्दैनन् । प्रदीप ज्ञवालीले तत्कालीन अमेरिकी विदेशमन्त्री माइक पम्पिओसँग जुन कुराकानी गरे, ओलीले टेबुल गरे, पक्षमा बारम्बार बोले । एमाले त्यसबाट पछि हट्न मिल्दैन । तर, ओली र ज्ञवालीका पछिल्ला टिप्पणीहरू सुन्दा उनीहरूले फेरि एमसीसीलाई राजनीतिक हतियार बनाउन खोजे जस्तो देखिन्छ ।
सत्ता पक्षमा हुँदा एउटा कुरा, विपक्षमा हुँदा अर्को कुरा- यो प्रवृत्तिले संसदीय प्रणाली नै असफल हुने सम्भावना बढ्दछ । देश कहिल्यै कुनै निष्कर्षमा पुग्न पाउँदैन । देशलाई सर्वथा गतिरोधमा फसाउनु कुनै नैतिक पराक्रमको विषय हुँदै होइन ।
जहाँसम्म संसदबाटै किन पारित गर्नुपर्ने भन्ने तर्क छ, त्यो एमसीसीको माग र शर्त मान्न सकिन्न । धेरै देशमा एमसीसी संसदबाट पारित नभइकन क्याबिनेट अनुमोदनपछि लागू भएको छ । नेपालसँगको सम्झौतामा मात्र त्यो प्रावधान किन राखियो भन्ने प्रश्नमा एमसीसीले ‘त्यो नेपाल पक्षकै माग थियो’ भन्ने गरेको छ । नेपालको कानून मन्त्रालयको सल्लाह र टिप्पणीबाट त्यो प्रावधान थपिएको देखिन्छ, त्यसको कारण उनीहरूले नै प्रष्ट गर्नुपर्दछ ।
जहाँसम्म वैदेशिक ऋण, सहायता सम्झौताहरू गोप्य राख्नु, मन्त्रालय वा क्याबिनेट तहमै सीमित गर्नु राम्रो हो कि संसदमा ल्याउनु राम्रो भन्ने प्रश्न छ- मेरो विचारमा त्यो संसदमा ल्याउनु राम्रो हो । यो सम्झौता संसदबाट पारित गराउने प्रावधान नभएको भए जनताले थाहा पाउने नै थिएनन्, न त यति धेरै बहस र छलफल नै हुन पाउँथ्यो । योजना बन्नु अगाडि नै सबै कुरा जनताले थाहा पाए, राम्रो भयो । भोलि भने बमोजिमको परिणाम आउँछ, आउँदैन भन्ने कुरामा पनि जनताले खबरदारी गर्ने छन् ।
नेपालको ऋण अहिले करीब १९ खर्ब छ । अनुदानका के कति कस्ता सम्झौता भए, कोकोसँग कस्तो सम्झौता र शर्तमा ऋण र अनुदान लिइएको छ, कसैले सार्वजनिक बहसमा ल्याएको छैन । एमसीसी पनि त्यस्तै हुन्थ्यो । लोकतन्त्रको सारतत्व नै पारदर्शिता, विचारविमर्श र प्रक्रियासम्मत निर्णय हो ।
हामीले अमेरिका र एमसीसीलाई चार वर्षदेखि झुलाइराखेका छौं । त्यसो गर्ने अधिकार हामीलाई छैन । हामी एमसीसी लिने/नलिने स्वतन्त्र छौं तर कुनै पनि मित्रराष्ट्रको अपमान गर्न स्वतन्त्र छैनौं । उसलाई झुलाइराख्ने अधिकार हामीलाई छैन । यदि हामीले कसैको अपमान गर्छौं भने उसले पनि हामीप्रति राम्रो धारणा राख्नुपर्दछ भन्ने हुँदैन । सम्मान दोहोरो हुन्छ । अमेरिका अनुदान दिन आउने, हामी उसलाई गाली मात्र गर्ने हो भने त्यो के राम्रो कुरा हो ? अमेरिका पनि हामी जस्तै एउटा देश हो । कुनै देशमा तारन्तार नेपालको विरोध मात्र गरिन्छ भने के हामीलाई मज्जा वा रमाइलो लाग्छ ?
हामी लिंदैनौं भने त्यो पैसा अमेरिकाले अरू कुनै देशलाई देला, जो आकांक्षी छन् । हामीले बेलैमा निर्णय दियौं भने नेपालका लागि भनेर कोषमा पैसा होल्ड गरेर राख्ने समस्याबाट ऊ मुक्त हुन्छ । पैसाको टाइम भ्यालु (समय मूल्य) कमजोर हुँदैन । कोष मुद्रास्फीतिको मारमा पर्दैन । अमेरिका वा अरू कुनै देशसँगको हाम्रो सम्बन्ध एकक्षणको हुँदैन । राष्ट्र-राष्ट्र, राज्य-राज्य बीचको सम्बन्धका कडी बहुआयामिक र दीर्घकालीन हुन्छन् । एमसीसी लागू भयो वा फिर्ता गयो भने नेपाल-अमेरिका सम्बन्ध सकिंदैन । अनाहकमा मित्रराष्ट्रलाई बदनाम, अपमान किन गर्ने ? आफैं माग्न जाने आफैं लिन्न भन्ने ? माग्नै नगएको भए हुन्थ्यो नि त ?
हामी भनौंला त्यो काम त कुनै राजदूत, नेता वा मन्त्रीले गर्यो, हामी जनताको के दोष ? वैदेशिक सम्बन्धको आधार त्यस्तो हुँदैन । त्यसलाई सही कूटनीति भनिंदैन । होला, कुनै व्यक्तिले गर्यो होला, तर त्यो देश र राज्यको तर्फबाट गर्यो । त्यहाँ देशको विश्वसनीयता जोडिन्छ । सम्पूर्ण नेपालीको विश्वसनीयता, इज्जत र प्रतिष्ठा जोडिन्छ । विश्व समुदायमा ‘यी नेपाली यस्तै हुन्, यिनीहरूको कुराको कुनै भर हुँदैन’ भन्ने भावना विकास भए के त्यो राम्रो हो ? सबैतिर त्यस्तो भावना विकास भए नेपाललाई सहयोग गर्न भविष्यमा कोही आउँदैन ।
नेपाललाई यतिखेर अनुदान जरूरी छ कि छैन, अब यो प्रश्नमा प्रवेश गरौं । विश्वको कुनै पनि देश विश्व प्रक्रियाबाट एक्लिएर बाँच्न वा विकास गर्न सक्दैन । अर्थशास्त्रीय दृष्टिकोणले आत्मनिर्भरताको अवधारणा नै असम्भव हो । हामी सक्षम छौं भने कसैको दान, अनुदान नलिए हुन्छ । तर, समक्ष छैनौं भने सहयोग त चाहिन्छ । नेपाल आफैं सक्षम भइदिए हुन्थ्यो भन्ने आकांक्षा कुन नागरिकलाई नहोला ? तर, आकांक्षा भएर मात्र हुँदैन । त्यही अनुसारको नेतृत्व, आर्थिक सबलता, व्यवस्थापकीय क्षमता र प्रविधि पनि हुनु पर्यो ।
यदि हामी विश्व प्रक्रियाबाट एक्लिएर हिंडेको भए शायद आजको जत्तिको पनि हुने थिएनौं । देशको सबैभन्दा ठूलो, पुरानो र प्रमुख राजमार्ग नै राजा महेन्द्रले खण्ड-खण्ड गरेर विभिन्न देशलाई भाग लगाएर बनाउन लगाएका थिए । बीपी राजमार्ग जापानले, अरनिको राजमार्ग चीनले बनाइदिएको थाहै छ । यहाँसम्म कि काठमाडौंको चक्रपथ समेत चीनले र माइतीघरदेखि सूर्यविनायकसम्मको बाटो जापानले बनाइदिएका हुन् ।
एमसीसी सम्झौतामा मुख्य दुई ठूला योजना देखिन्छन् । काठमाडौं लप्सीफेदी-नुवाकोट रातमाटे-हेटौंडा, रातमाटे-दमौली, दमौली-बुटबल, बुटबल-सुनौली र सुनौली-गोरखपुर ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन, रातमाटे, दमौली र बुटबलमा सबस्टेशन । अर्को कपिलवस्तु चन्द्रौटा-दाङ लमही-बाँके शिव खोलासम्मको सडक स्तरोन्नति । अमेरिकाले दिने ५० करोड युएस डलर अनुदानले यी दुई ठूला योजना पूरा हुन्छन् भने कसलाई किन टाउको दुख्नु पर्यो ? काठमाडौं-गोरखपुर विद्युत् लाइनले निःसन्देह नेपाल-भारत बीच विद्युत् आयात निर्यातमा कोसेढुङ्गाको काम गर्न सक्दछ ।
ठीक छ- एमसीसी नलिने हो भने आफैं बनाऊँ । तर, देशको आर्थिक हालत के छ अहिले ? यस्तो हालत कसले बनायो, को दोषी हो, त्यसको भिन्नै बहस हुन सक्दछ तर सत्य के हो भने करीब ६५ प्रतिशत बजेट चालु खर्चमा नै समाप्त हुँदैछ । करीब १२ प्रतिशत बजेट ऋणको सावाँ ब्याजमा जाँदैछ । आन्तरिक राजस्वले मुश्किलले चालु खर्च धान्छ । पूँजीगत र वित्तीय खर्च धान्न ऋण लिनु परेको छ ।
यो त ऋण लिएर ऋण तिरे जस्तो हो । ऋण वितेका तीन वर्षमा मात्र दोब्बरभन्दा धेरै करीब १९ खर्ब पुगेको छ । के कुनै पार्टी वा नेता सरकारमा जाँदैमा वा सरकार छोड्दैमा देशको यो आर्थिक हालतमा कुनै चामत्कारिक परिवर्तन हुने सम्भावना छ ? विगत ३० वर्षको अनुभव हेर्दा त्यो सम्भावना देखिन्न । देशको अर्थतन्त्रमा आमूल संरचनात्मक परिवर्तनको साहस गर्ने कुनै नयाँ नेतृत्व र शक्तिको उदय विना अर्थतन्त्रको प्रवृत्तिमा कुनै ठूलो मोडको अपेक्षा गर्न सकिंदैन ।
देशको आर्थिक अवस्था यस्तो हालतमा हुँदा कसैले उल्लेखनीय अनुदान दिन्छ भने के नराम्रो भयो ? ऋण लिनु राम्रो हो कि अनुदान ? ऋणले आर्थिक दबाब बढाउँछ, अनुदान नै बढाउँदैन । आफ्नो क्षमता पनि छैन, अरूको अनुदान पनि लइँिदैन भने कुनै विकासको कामै नगरिकन चालु खर्च मात्र गरेर, कर्मचारी र नेता मात्र पालेर बस्नु राम्रो हो ? त्यस्तो नीति लिएको देशले चाहिं उन्नति गर्ला ?
अनि दाता राष्ट्रलाई चिढ्याएर हामी पाउँछौं चाहिं के ? कुन प्रकारको पराक्रम र बहादुरी हुन्छ त्यो ?
जहाँसम्म अमेरिकालाई ‘साम्राज्यवादी’ र चीनलाई ‘महान समाजवादी’ राष्ट्र देख्ने कुरा छ, त्यस्तो विचारमा आस्था राख्नेहरूप्रति केही भन्नु छैन । राजनीतिक आस्थाको सम्मान गर्नु लोकतन्त्रको कर्तव्य हो । तर, हाम्रो वास्तविकता के हो ? त्यो पनि एकपटक विचार गरौं ।
के भारतले झैं चीनले हामीलाई खुल्ला सिमानाको छुट दिन्छ ? नेपालको कर्णाली, सुदूरपश्चिम लगायतको अदक्ष ग्रामीण जनशक्तिको श्रमबजार भारतका विभिन्न शहर हुन् । २० लाख बढी नेपाली श्रमिकको रोजगार त्यहाँबाट चल्छ, के यो सुविधा चीनले हामीलाई दिन्छ ? करीब ६८ प्रतिशत नेपालको व्यापार भारतसँग हुन्छ, के चीनसँगका केरुङ र तातोपानी दुई नाकाबाट त्यसको सहज आपूर्ति सम्भव छ ? चीनसँग पारवहन सन्धि भयो, बडो ठूलो राष्ट्रवाद भयो भन्यौं । तर के त्यो सन्धि प्रयोगमा आयो वा आउन सक्छ ? भारततिरको करीब एक हजार किमी दूरीको समुद्र छोडेर चीनतिरको ३८०० किमी लामो दूरीको समुद्र प्रयोग गर्दा नेपालको आयात निर्यात पारवहन खर्च सस्तो हुन्छ ?
यहाँनेर हामीले के बुझ्न जरूरी छ भने भारतपछिको नेपालको दोस्रो ठूलो साझेदार देश अमेरिका नै हो । हो, आयात व्यापारको दृष्टिले चीन दोस्रो हो तर आयातले मात्र त हामीलाई फाइदा हुँदैन, त्यो त चीनकै फाइदाको कुरा हो । भारतपछि नेपाललाई निर्यातका लागि बजार पहुँच दिने दोस्रो देश अमेरिका हो । यो यथार्थ हामीले बिर्सन मिल्दैन । विभिन्न तरिकाले अमेरिका जाने र तिनका सन्तान समेत गर्दा करीब लाखौं नेपाली अमेरिकामा छन् भनिन्छ, के चीनले हामीलाई यो सुविधा दिन्छ ? अमेरिका र चीनबाट आउने विप्रेषणको तुुलना गरेको छ कसैले ?
यसको अर्थ चीनलाई नराम्रो देखाउन खोजेको हैन । चीन हाम्रो असल छिमेकी हो । तर, चीनसँग हाम्रो सम्बन्धका सीमा छन् । संसारका बाँकी सबै देशसँगका सम्बन्ध बिगारेर, अरू सबैलाई गाली गरेर, चीनलाई ‘महान’ देखाएर नेपाललाई कुनै फाइदा हुनेवाला छैन । चीनसँग बीआरआई भयो खै, कसले विरोध गर्यो ? तर, बीआरआईमा भनिएका योजना पनि सोचे अनुसार चलेका, बनेका त छैनन् । यो पाटोबाट सोच्ने कि नसोच्ने ?
जहाँसम्म सुरक्षा चिन्ता हो- त्यसको आधार के ? के नेपालमा बनेका कुनै पनि सरकारले आजसम्म चीनको सुरक्षा चासोप्रति कुनै वैरभाव राखेको, हानि पुर्याएको उदाहरण छ ? राजा र पञ्चले होस् वा कांग्रेस वा एमालेले वा अरू कुनै सरकारले त्यसो गरेका छैनन् । नेपालसँग चीन आफैं सन्तुष्ट छ । चीनले कहिल्यै त्यस्तो कूटनीतिक नोट पठाएको वा चिन्ता व्यक्त गरेको छैन । चीनले ‘एमसीसी नलेऊ, त्यसले हाम्रो सुरक्षामा असर पर्छ, अमेरिकाले हामीलाई घेर्छ’ भनेर नेपालसँग कुनै औपचारिक आग्रह गरेको छैन । बरु चीनले कालापानी क्षेत्रबारे भारतसँग गरेको सम्झौतामा हाम्रो आपत्ति छ । त्रिदेशीय सीमालाई द्विदेशीय सम्झौता गरेकोमा नेपालको आपत्ति छ ।
नेपाल-चीन सम्बन्धका सीमा चीनको गलत नियत हैन, हिमालयको प्राकृतिक सिमाना र उसको शासन व्यवस्थाका सीमा पनि हुन् । चीन एकदलीय कम्युनिष्ट व्यवस्था भएको देश हो । हामी बहुुदलीय लोकतन्त्र भएको देश हौं । राज्य-राज्य सम्बन्धमा चीनप्रति हाम्रो सदा सम्मान र सहकार्य हुन्छ । तर, जब लोकतन्त्र र मानवअधिकारको कुरा आउँछ, शासकीय प्रणालीको विश्वव्यापी निकटताको कुरा आउँछ, त्यतिखेर हामी स्वाभाविक रूपले लोकतान्त्रिक मुलुकतिर नजिक हुन्छौं नै । त्यो कुरा चीनले आफैं बुझेको छ । नेपालका कम्युनिष्ट, राजावादी र कथित राष्ट्रवादीहरूले अनावश्यक ‘चीनभक्ति’ देखाइरहन जरूरी छैन ।
लोकतान्त्रिक पद्धतिको विश्वव्यापी मान्यताभन्दा बाहिर एकदलीय प्रणालीको कल्पना नेपालमा कसैले नगरे हुन्छ । यसर्थमा नेपालमा माओवाद वा ‘सी जिन पिङ विचारधाराको प्रशिक्षण’ को कुनै अर्थ र औचित्य छैन । अहिलेको संसदीय लोकतन्त्र पर्याप्त छैन भन्ने कुरा सत्य हो । तर, यसको विकल्प कुनै पनि प्रकारको एकदलीय, निरंकुशता र तानाशाही हुन सक्दैन । संसदीय लोकतन्त्रको साटो अझ बढी उन्नत, सहभागितामूलक, प्रत्यक्ष र समावेशी लोकतन्त्रको बाटो सबैका लागि खुल्ला छ ।
एमसीसी इन्डो-प्यासिफिक रणनीति -आईपीएस) को अंग हुने कुनै आधार देखिन्न । एमसीसी ऐन २००३ मा आयो, आईपीएस अझ अन्तिम भइसकेको छैन । यो कुरा एमसीसीले पत्राचार मार्फत प्रष्ट गरिसक्यो । एमसीसी न सैन्य सम्झौता हो, न आईपीएसको अंग, त्यसो भए यसको सैन्य अभियानसँग कहाँनेर के सम्बन्ध हुन्छ ?
नेपाललाई अफगानिस्तान हुन दिने कसलाई किन मन हुन्छ र ? ‘नेपाल अफगानिस्तान हुँदैछ’ भनेर कसैले भाषण ठोक्दा हामीले खुशीले ताली बजाउनुपर्ने हो कि चिन्तित हुनुपर्ने हो ? तर्कलाई अतिरञ्जित गर्नुको पनि हद हुन्छ ।
मानौं कि अमेरिकाको भित्री योजना वा मनसायमा एमसीसी आईपीएसको अङ्ग नै हो, जबसम्म त्यो सम्झौतामा लेखिन्न, मनसाय वैधानिक हुँदैन । अमेरिकाले कुनै गलत मनसाय देखाए हामी एक महीनाको सूचनामा सम्झौता खारेज गर्दिन सक्छौं । त्यो अधिकार हामीलाई त्यही सम्झौताले दिएको छ ।
अमेरिका जहाँ-जहाँ गएको छ- एमसीसी गरेर गएको छैन । अफगानिस्तान, इराक वा सिरियामा अमेरिकाको कुनै एमसीसी थिएन । अफगानिस्तानमा अमेरिका मात्र हैन, त्यसअघि नै कम्युनिष्ट सोभियत संघ आएको थियो हामीले बिर्सनु हुन्न । अफगानिस्तानमा अमेरिका गएको सन्दर्भमा सेप्टेम्बर ११ को घटना, ट्वीन टावरको विध्वंस, करीब ४ हजार अमेरिकी नागरिकको हत्या र करीब २८ हजार घाइते भएको घटना पनि हामीले बिर्सन हुन्न ।
के हामी कुनै ओसामा बिन लादेन र मुल्ला मोहम्मद उमरलाई पाल्ने वा संरक्षण दिने योजनामा छौं ? हैन भने अफगानिस्तान नेपालसँग कसरी तुलनीय हुन्छ ? के हामी सद्दाम हुसेन र बसर-अल असदको झैं अलोकतान्त्रिक ‘बाथ शासन’ को पक्षमा छौं ? अनि इराक र सिरियासँग नेपालको कसरी तुलना हुन सक्दछ ?
नेपाल ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हो । न यो तालिबानको देश हो, न बाथिष्टहरूको । यहाँ न बार्बरा कार्मल र नाजिबुल्लाहरूको शासन हुन सक्दछ न मुजाहिद्दीनहरूको । ‘श्वेत’ वा ‘काल’ मात्र हैन, ‘लाल’ लादेन र मुल्ला उमर पनि नेपालको जमीनले उमार्ने छैन । लोकतन्त्र हाम्रो ठूलो राजनीतिक तथा नैतिक शक्ति हो । यो शक्तिले सैन्य दृष्टिले नसक्ला, तर राजनीतिक तथा नैतिक दृष्टिले जस्तै ठूलो महाशक्तिलाई पनि झुकाउने तागत राख्दछ । यति आत्मविश्वास नहुने हो भने हामी एक सार्वभौम राष्ट्र हुन कसरी लायक हुन्छौं ?
अन्तिममा- एमसीसी लिनैपर्छ भन्ने छैन । जे भए पनि त्यो दान नै हो । जत्रो ठूलो रकमको भए पनि दान नै हो । जसले दिएको भए पनि त्यो दान नै हो । दान खानु त्यो पनि झगडा गरी-गरिकन त्यो कुनै गौरव, बहादुरी र पराक्रमको विषय हैन । त्यो त बाध्यता हो । हामी पनि सक्षम देश बनेको भए अरूलाई दान दिन्थ्यौं होला । दातृ राष्ट्र कहलिन्थ्यौं होला । भुटानले पाँच लाख कोरोना भ्यााक्सिनको डोज बोकेर नेपाल आउने आँट गर्दैनथ्यो होला ? त्यस्तो सक्षम राष्ट्र बनाएनौं त अहिलेसम्म कसैले ? अनि दोष अरूलाई दिने ?
यदि कायर, लाछी वा अक्षम हौं भने हामी आफैं हौं । आफ्नो अक्षमताको उपचार अरूलाई गाली गरेर, मित्रराष्ट्रहरूको अपमान गरेर हुँदैन ।
एमसीसी संसदमा पेश गरौं- पास भए होस्, फेल भए होस् । पास भए हेरौंला पाँच वर्षभित्र कसको तर्क सही सावित हुन्छ ? अमेरिकी सेना आउँछ कि विद्युत्को प्रसारण लाइन र सडक बन्छ ? फेल भए कुरै खत्तम !
डम्बर खतिवडा
राष्ट्रिय राजनीतिमा सशक्त कलम चलाउने राजनीतिक विश्लेषक तथा लेखक खतिवडा जसपासँग आवद्ध छन् । उनको नियमित स्तम्भ ‘अग्रपथ’ हरेक आइतबार प्रकाशित हुनेछ ।
( अनलाइनखबरबाट लिइएको )
विचारबाट थप समाचार
अन्नपूर्णले पोतेको खुसीका रङ
ट्रम्पले युएसआईडीको फन्ड काटेर जगाइदिएको राष्ट्रवाद
बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय ः प्रधानमन्त्री
नेपाल टेलिकमलाई नयाँ लाइसेन्स दिने मन्त्रिपरिषद्को निर्णय
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७