TRENDING

धादिङमा आइचर दुर्घटना हुँदा ३५ जना घाइते

काठमाडौं । धादिङमा आइचर दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नं. ५ खरीबाट सदरमुकाम धादिङबेशी आउँदै गरेको बा ३ ख ५६२३ नम्बरको आईचर ट्रक सोमबार बिहान नीलकण्ठ नगरपालिका वडा नं ८ बगैँचामा दुर्घटनाग्रस्त भएको हो । आइचर अनियन्त्रित भएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भिर घाइते भएका आठ जनालाई हेलिकप्टरद्धारा उद्धार गरि काठमाडौं स्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गम्भिर घाइते हुनेहरुमा ज्वालामूखी गाउँपालिका वडा नं ५ खरीका ५० वर्षिय बलराम अधिकारी, १७ वर्षिय संजिता तामाङ, ४८ वर्षिय राजाराम अधिकारी र २६ वर्षिय मिना श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, २० वर्षिय मानबहादुर तामाङ, ३५ वर्षिय सुवास तामाङ, ७० वर्षिय पार्वती आले र २८ वर्षिय दिलबहादुर बयलकोटीलाई उपचारका लागि एम्बुलेन्सद्धारा काठमाडौं ल्याइएको थियो । अन्य घाइतेहरुको धादिङ अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।