TRENDING

निर्दोष पत्रकारको मोटरसाइकलमा लागूऔषध राखिदिएर पक्राउ गरेको आरोपमा २ प्रहरी निलम्बित

काठमाडौं । पत्रकार मोहम्मद मोजुबुल्लाहको बाइकमा लागुऔषध राखेर पक्राउ गरिएको पुष्टि भएको छ । सीसी क्यामेरा र अडियो रेकर्ड बाहिरिएसँगै यो कुरा पुष्टि भएको हो । निर्दाेष पत्रकारको रोकिराखेको बाइकमा प्रहरी आफैंले लागु औषध राखेर पक्राउ योजना रचेको पुष्टि भएको हो ।

घुमुवा प्रहरी सहायक निरीक्षक उदय यादव र प्रहरी जवान मनोज शाहले नातेदार धिरज यादवलाई प्रयोग गरेर लागुऔषध राखिदिएको पुष्टि भएको थियो । होटल बाहिर बाइक राखेर खाजा खान गएको बेला पारि नीजको बाइकमा लागुऔषध राखिएको भेटिएको थियो ।

घटनामा संलग्न प्रहरीद्वय यादव र शाहलाई निलम्बन गरेर अनुसन्धान गर्ने तयारी थालिएको बताइएको छ । आगुऔषध नाइट्राभेट सहित पक्राउ गरिएको भनिएका निर्दाेष मोहम्मदको संलग्नता नदेखिएकोले नीजलाई छाड्ने तयारी गरिएको बताइएको छ ।

सोमबार दिउँसो एउटा अडियो रेकर्ड पनि सार्वजनिक भएको छ, जसमा असई उदय यादवले भनेका छन्, ‘सेतो हेलमेट देखिएको छ, त्यो धिरजलाई सेतो हेलमेट हटाएर अर्को हेलमेट प्रयोग गरेर मोटरसाइकल चलाउन भन्नु ।’ अडियोमा उनले सीसी टीभी फुटेज मेटाउन लागेको बताएका छन् ।

‘सबै वस्तुस्थितिले घटनामा पत्रकार मोहम्मदको संलग्नता देखिएन’ स्रोतले भन्यो । तर घटनामा प्रहरी मात्रै दोषी नभएको एक प्रहरी अधिकृतले बताए । उनले भने, ‘पत्रकार महासंघको जिल्ला शाखाकै एक पदाधिकारीले व्यक्तिगत रिसिइबीका कारण दुई प्रहरी प्रयोग गरेर घटना गराएका रहेछन् ।’

यस विषयमा थप अनुसन्धान भइरहेको स्रोतले जनाएको छ ।