TRENDING

पत्रकार महासंघ दोलखाका अध्यक्ष चौलागाइको अनलाईन प्रेस काउन्सिलद्वारा प्रतिबन्ध

दोलखा । पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशंकर चौलागाइ अध्यक्ष एवं प्रधान सम्पादक रहेको अनलाईन पोर्टल ओके कान्तिपुरलाई प्रेस काउन्सिल नेपालले प्रतिबन्ध गरेको छ । विगत केही महिना देखि सञ्चालनमा रहेको उक्त पोर्टलका बिरुद्ध काउन्सिलमा उजुरी परेपछि काउन्सिलले छानबिन गरेको थियो । मिडिया सञ्चालक समितिलाई काउन्सिलले बिना दर्ता सञ्चालन, लकडाउनका बेला रु दुई सयमा प्रेस पास बेचेको लगायतका बिषयमा परेको उजुरी उपर छानबिन गरी जवाफ माग गर्दा जवाफ पेश गर्न सकेको थिएन ।

छानबिनका क्रममा अध्यक्ष चौलागाइले २०७४ मंसिर २९ मा रातो गुराँस डट कम नाम राखी काउन्सिलमा सूचीकरण गराई न्यूजपोर्टल सञ्चालन गरेको भेटिएको तर हाल उक्त पोर्टलमा हेर्दा अश्लील खालका सामग्री र विदेशी भाषाका केही सामग्रीहरु मात्रै पोष्ट गरिएको फेला परेको थियो । हाल सोही समयको रातोगुराँसको विवरण राखी ओके कान्तिपुरका नाममा सूचीकरण भएझैँ सञ्चालन गरिएको ओके कान्तिपुर अनलाईन पोर्टललाई भ्रम छरेर सरकारी कागज र अभिलेख दुरुपयोग गरेको ठहर गर्दै काउन्सिलले नेपालभित्र प्रकाशन गर्न प्रतिबन्ध गरेको हो ।

अध्यक्ष चौलागाईले बठ्याँइ गर्दै पुरानो विवरणलाई नयाँ नाम ओके कान्तिपुर बनाई देशकै ठूलो मिडिया कान्तिपुरको नाम जोडेर दोलखामा सबै क्षेत्रलाई प्रभाव पार्दै आएका थिए । नेपालको कानुनमा अन्य कुनै मिडियासँग नाम जोडेर नयाँ छुट्टै नाम दर्ता गर्न मिल्दैन । ओके कान्तिपुर, ओके गोरखापत्र वा ओके हिमालय टायम्स जस्ता नाम दर्ता गर्दै जाने हो भने सबै चर्चामा आएका मिडियाका नाम मात्रै दोहोरिने सम्भावना हुन्छ, यो कुनै नीति नियममा भएको कुरै हैन, त्यसैले यो कानुन विपरित हुन्छ, काउन्सिलका एक कर्मचारी बताउँछन् ।

यी र यस्ता खालका गतिविधि हुन नदिन र पत्रकारहरुलाई पनि मिडिया भित्र विकृति ल्याउन नदिन सचेत गराउदै प्रेस काउन्सिलले २०७८ साउन १८ गते आचारसंहिता उपसमितिको बैठक बसी पत्रकार महासंघलाई समेत पत्राचार गरेको छ । यसका साथै समाजमा भ्रम फैलाउने, पत्रकारिताका नाममा झूठा खेती गर्ने, अन्य क्षेत्रलाई धम्क्याउने र शक्तिको दुरुपयोग गर्ने मिडिया देखिएमा काउन्सिलमा तत्कालै उजुरी गर्न पनि आव्हान गरेको छ ।