

सुनसरी । सुनसरीको दुहबीमा संचालित श्री लुनकरणदास–गंगादेवी चौधरी च्यारिटी अस्पताललाई स्तरोन्नति गरी पुनः संचालनमा ल्याइने भएको छ । काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल र बसन्त चौधरी फाउण्डेसनले संयुक्त रुपमा ५ करोड रुपैयाँ लगानी गरी करिब साढे ३ वर्षदेखि बन्दप्राय रहेको सो अस्पताललाई स्तरोन्नति गर्दै पुनः संचालनमा ल्याउने भएका हुन् ।
बन्द हुनु अघिसम्म १५ शैया क्षमतामा संचालनमा रहेको अस्पतालको स्तरोन्नति गरी ५० शैया बनाइनेछ । सो च्यारिटी अस्पताल नवीनतम प्रविधि र मेडिकल उपकरणले सुसज्जित हुनेछ । सो अस्पताललाई नर्भिकले दक्ष जनशक्तिको साथै विशेषज्ञ सेवा समेत उपलब्ध गराउनेछ । अस्पतालको सम्पूर्ण प्राविधिक पक्ष नर्भिकले हेर्नेछ भने आर्थिक सहयोग बसन्त चौधरी फाउण्डेसनले जुटाउनेछ ।
नर्भिक इन्टरनेशनल हस्पिटलका संरक्षक बसन्त चौधरीले दुहबीको सो अस्पतालमा नर्भिकको प्रविधि, जनशक्ति तथा अनुभव समेत प्रयोग गरी पूर्वी नेपालका सर्वसाधारणलाई न्यून दरमा स्वास्थ्य सेवा उपलब्ध गराइने योजना रहेको बताए। ‘हामीले सो अस्पताललाई पुनर्जीवन दिनका लागि ३ करोड रुपैयाँ बराबरको लगानी पूर्वाधार विकासमा गर्नेछौं,’ अध्यक्ष चौधरीले भने–‘२ करोड रुपैयाँ बराबरको स्वास्थ्य उपकरण उपलब्ध गराउनेछौं।’
करिब ८ हजार वर्गफिटको नयाँ संरचनासहित मुटुरोग/प्रसूति सेवा लगायतका शल्यक्रियाका लागि अत्याधुनिक अप्रेसन थिएटर, अत्याधुनिक उपकरणजडित आइसियू लगायतका संरचना निर्माण गरी अस्पताल पुनः संचालन हुनेछ । सो अस्पतालमा डायलासिस सेवा समेत उपलब्ध हुनेछ । अस्पतालमा २४ सै घण्टा स्तरीय आकस्मिक सेवा समेत उपलब्ध हुनेछ । अस्पतालमा ७५ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् ।
आगामी बैशाख १ गते पर्ने नर्भिक अस्पतालको स्थापना दिवसको अवसर पारेर सो च्यारिटी अस्पतालको सम्पूर्ण सेवाको सुरुवात हुनेछ ।
चौधरीका पितामाताको नाममा स्थापित सो अस्पतालको शिलान्यास २०५२ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए। तत्कालीन गाविसले च्यारिटी अस्पताल चलाउनका लागि १० कठ्ठा जग्गा उपलब्ध गराएको थियो भने अस्पताल निर्माणमा लाग्ने सबै खर्च चौधरीले व्यहोरेका थिए।
सो बेला समेत दुहबी–विराटनगर औद्योगिक करिडरमा २०० बढी उद्योगहरु संचालनमा रहेका थिए। कुनै औद्योगिक दुर्घटना हुँदा वा उद्योगमा काम गर्ने कुनै मजदूर वा श्रमिक अचानक बिरामी पर्दा उपचार गर्न विराटनगर नै पुग्नुपर्ने बाध्यता थियो। त्यस्तो बाध्यता अन्तको उद्देश्यले त्यसबेला च्यारिटी अस्पताल स्थापना गरिएको थियो ।
नर्भिकले यसै वर्षदेखि सुनसरीको दुहबीमै १०० शैयाको अत्याधुनिक छुट्टै अस्पतालनको निर्माण कार्य समेत सुरु गर्ने यसअघि नै घोषणा भइसकेको छ ।
मुख्य समाचारबाट थप समाचार
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७