TRENDING

पशुपतिनाथको जलहरी खरीदबारे अख्तियारद्धारा छानबिन शुरु

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको जलहरी खरिद प्रक्रियाको छानबिन शुरु गरेको छ ।

हिन्दुधर्मावलम्विको आस्थाको धरोहर पशुपतिनाथ मन्दिरको जलहरी खरीद प्रक्रियामा अनियमितता भएको भन्दै उजुरी परेपछि आयोगले अनुसन्धान अगाडि बढाएको आयोग स्रोतले बताएको छ ।

तर पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले भने दुई सरकारी कार्यालयबीचको कार्यमा आयोगले खरिद के कसरी भयो भन्ने बारे सामान्य बुझ्न मात्रै खोजेको तर अनियमितताको आरोपमा छानबिन भने नगरेको बताउनुभयो ।

यसैबीच फागुन ११ गते विरोधका बीच पशुपतिमा राखिएको सुनको जलहरीमा क्षति पुगेपछि रातारात मर्मत गर्न लागेको आरोप स्थानीयले लगाएका छन् भने जलहरीमा कुनै क्षति नभएको ढकालको जिकिर छ ।

केन्द्र सरकारको ३० करोडसहित एक अर्ब रुपैयाँ खर्च गरेर बनाइएको सुनको जलहरी राख्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गरिएको छ । जुन अहिले विचाराधीन अवस्थामा छ ।

वागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष तथा कोषको सञ्चालक परिषद् र गुठी संस्थान केन्द्रीय कार्यालयलाई विपक्षी बनाएर फागुन ११ गते रिट निवेदन दायर गर्नुभएको हो ।