

आईसीयू वार्ड । टिकटिक आवाज….. !
मुटुको चाल कहिले ८० मा दौडन्छ, कहिले ५० मा झर्छ । ‘सास फेर्न गाह्रो भयो’, आईसीयू बेडबाट मलिन आवाज आउँछ । नर्स हतारिँदै अक्सिजनको लेभल हेर्छिन् । अनि घोप्टो पर्न सुझाउँछिन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आईसीयू र भेन्टिलेटरमा रहेका बिरामी न आफैँ शौचालय जान सक्छन्, न खाना खान सक्छन् । मास्क लगाउने त परको कुरा, चिकित्सकले एक सेकेन्ड पनि छोड्न मिल्दैन ।

टेकु अस्पतालको आईसीयूमा भर्ना भएका बिरामी ।
‘आज धेरै ‘स्ट्रेस’ भयो । भित्र छिर्दा कसैको सुधार भएको देखिँदैन । आईसीयू भेन्टिलेटरमा रहेका सबै सिकिस्त छन्’, बिरामीको अवस्थाबारे एक नर्स अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप बाँस्तोलालाई सुनाउँछिन् ।
अस्पतालमा कस्तो स्थिति छ डा. अनुप र नर्सको मुहारले प्रस्ट पार्छ ।
‘बाहिर हिँड्दा केही नदेखिए पनि अस्पतालमा आगो बलेको छ । भित्र बसेर लड्ने बिरामीको कथा फरक छ । धेरै गाह्रो छ’, डा. अनुप भन्छन्, ‘असहज परिस्थिति आएको छ । भित्र छिरेपछि बचाउन सकिएला त भन्ने चिन्ता लाग्छ । बिरामी आफैँ खान नसक्ने सिरियस छन् ।’
तर, कोरोनाबाट जोगिन कोही पनि सिरियस नभएकोमा उनी चिन्तित छन् । ‘अहिले मेकअप नगरे, लुगा नकिने, फिल्म हेर्न हलमा नगए हुन्न’, उनी भन्छन्, ‘यो संक्रमणबाट जोगिने समय हो । २५ जनाभन्दा बढी भेला नहुन भनिएको छ । सरकारको निर्णय कार्यान्वयन हुँदैन । अनुशासनमा कोही पनि बसेको छैन ।’
अस्पतालमा एकै परिवारका चार जनासम्म भर्ना भएका छन् । ‘आमा, छोरो, बुहारी तल वार्डमा छन् । बुबा माथि आईसीयूमा । कुरुवासमेत संक्रमित छन्’, डा. अनुप भन्छन्, ‘पहिले एक जना संक्रमित हुँदा आइसोलसनमा राखेर अरुलाई जोगाएका थियौँ । यो पटक त्यस्तो छैन । जोगाउन गाह्रो छ ।’
‘आईसीयू चाहियो । भेन्टिलेटर चाहियो । अक्सिजन चाहियो’, डा. अनुपको मोबाइलमा बारबार घण्टी बज्छ ।
‘सबै भरिएको छ । आईसीयू र भेन्टिलेटर छैन । अक्सिजनसम्म मिलाउन सक्छु’, उनी फोनबाट जवाफ फर्काउँछन् ।
‘मेरै घरको सदस्य र म आफैँ संक्रमित भएँ भने पनि आईसीयू, बेड, भेन्टिलेटर छैन । स्टाफका लागि छैन । बेडमा भएकालाई उठाएर अरु राख्ने स्थिति छैन’, उनी भन्छन्, ‘भेन्टिलेटर र आईसीयूका लागि मात्र दिनको १ सयभन्दा बढी फोन आउँछ ।’
काठमाडौंमा व्यापक संक्रमण फैलिएको उनको दाबी छ । ‘तराईबाट राजधानी आएकाहरूबाट जसलाई सर्यो, ती सिकिस्त छन्’, उनी भन्छन्, ‘तराईमा आगो बल्यो । काठमाडौं भुसको बममा छ । अब विस्फोट हुन्छ ।’
‘विस्फोट हुन नदिन के गर्ने त ?’
लक्षण भएकालाई नलुक्न उनी सुझाउँछन् । ‘लक्षण भएका परीक्षणको दायरामा आउनुहोस् । युवा छु भनेर सोच्ने अवस्था छैन । युवा नै सिकिस्त भएका छन् । वृद्धवृद्धाको कुरै भएन । स्थिति असामान्य छ । लक्षण देखिएका मान्छे लुकेर नबसौँ’, उनी भन्छन् ।
‘अनि ?’
सेल्फ लकडाउन, सेल्फ लकडाउन, सेल्फ लकडाउन……!
‘जनता थुनिएर बस्नुपर्छ । सरकारले लकडाउन गरेपछि बसौँलाभन्दा धेरै ढिला हुन्छ । यहाँ बेडमा भएका पनि सिकिस्त छन् । प्लिज ! अब बाँच्नुको अर्को विकल्प छैन । तीन/चार हप्ता घरबाट बाहिर ननिस्कनुस्’, उनको निष्कर्ष छ सेल्फ लकडाउन ।
मजदुरका लागि राहतको व्यवस्था मिलाएर सबैलाई घर-घरमा नराखे कोरोनाका कारण अकालमा धेरैले ज्यान गुमाउनुपर्ने खतरा औल्याउँछन् डा. अनुप ।
लकडाउन गर्दा सबैभन्दा धेरै दिउँसो काम गरेर बिहान बेलुका छाक टार्ने मजदुर मर्कामा पर्छन् ।
उनीहरूका लागि के गर्ने त ?
‘जसलाई खान पुग्छ, उसले केही हप्ताका लागि जोहो गर्नुपर्छ । मजदुरका लागि सरकार र संघसंस्थाले यो समय राहत दिनुपर्छ’, उनी भन्छन्, ‘अब जनतालाई कसरी जोगाउने भन्ने प्रश्न हो । नत्र अकालमा कोरोनाले धेरैको ज्यान जान सक्छ ।’
अत्यावश्यकबाहेक अरु सेवा रोकेर सबै अस्पताल कोभिडका बिरामीको उपचारमा खटिनुको विकल्प देख्दैनन् उनी ।
‘अत्यावश्यकबाहेक ननकोभिडको सेवा रोक्नुपर्छ । अस्पतालका बेडहरू कोभिडका लागि व्यवस्थापन गर्नुपर्छ’, उनी भन्छन्, ‘धेरै बिरामी भएपछि केयर कसरी गर्ने ? गुणस्तरीय सेवा दिन सक्छौँ त भन्ने चिन्ता छ ।’
अस्पताललगायत सबै क्षेत्रमा कर्मचारीको व्यवस्थापन गर्नुपर्नेमा उनको जोड छ । ‘आवश्यक कर्मचारी काममा आएर अरुलाई बिदा दिनुपर्छ’, उनी भन्छन्, ‘सरकारी कार्यालयदेखि बैंक, संघसंस्था सबैमा कर्मचारीको व्यवस्थापन गर्नु आवश्यक छ । भीडले नै हो आगो बाल्ने ।’
अस्पतालका निर्देशक डा. सागर राजभण्डारीको मत पनि उस्तै छ । उनी पनि लकडाउनको विकल्प देख्दैनन् । ‘१४ महिना करायौँ । दूरी कायम भएन । मास्क लगाएनन् । भीड उस्तै छ । खोप लगाउन भनेका छौँ’, उनी भन्छन्, ‘कम्तीमा दुई हप्ता लकडाउन गरौँ । जो जहाँ छ, त्यहीँ बसाउनुपर्छ । कन्ट्याक्ट ट्रेसिङ, परीक्षण गर्दै संक्रमितलाई आइसोलेसनमा राख्नुपर्छ ।’
अब सडकमै राखेर उपचार गर्नुपर्ने दिन आएको निर्देशक डा. राजभण्डारी बताउँछन् । ‘अक्सिजन र औषधिले धान्ने स्थिति छैन । एक हप्ताभित्र सडकबाट उपचार सेवा सुरु हुन्छ । जसलाई अक्सिजन चाहिन्छ । बाहिरबाटै अक्सिजन दिँदै पठाउँदै गर्नुको विकल्प छैन’, उनी भन्छन्, ‘हेल्चेक्य्राइँ धेरै भयो । कन्ट्रोल गर्नै सकिएन । नयाँ भेरियन्ट छिटो फैलिएको छ । हामी आत्तिएका छौँ ।’
डा. राजभण्डारी बिरामीलई अक्सिजन दिन स्वयंसेवक राख्नुपर्ने स्थिति आएको बताउँछन् । ‘कर्मचारी पुग्दैनन् । बिरामीको अक्सिजन छुट्यो भने सकियो । अक्सिजन दिन स्वयंसेवक राख्नुपर्ने भएको छ’, उनी भन्छन् ।
संक्रमण प्रत्येक दिन दुई गुणाले बढ्दै गएको तथ्यांक देखाउँछन् निर्देशक डा. राजभण्डारी । उनले देखाएको पाँच हप्ताको तथ्यांकले भन्छ, ‘कोरोना संक्रमणबाट आफैँ जोगिनुको अर्को विकल्प छैन ।’
(शिलापत्र डटकमबाट लिइएको)
मुख्य समाचारबाट थप समाचार
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७