

काभ्रेपलाञ्चोक । ‘बैंक अफ किड्नी’का रूपमा अन्तर्राष्ट्रियस्तरमा बदनाम कमाएको काभ्रेपलाञ्चोकमा करिब तीन वर्षदेखि मिर्गौला तस्करीको घटना बाहिर आएको छैन । कोरोना सन्त्रासका बीच तस्करी नभएको विश्वास गरिए पनि त्यसअघि करिब एक वर्ष १० महिनाको अवधिमा समेत मिर्गौला तस्करीका घटना बाहिर आएनन् । के अब काभ्रेपलाञ्चोकमा मिर्गौला तस्करी रोकिएकै हो ?
विसं २०७५ जेठ १० गते काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ टुकुचानाला स्थित गिरी गाउँका २९ वर्षीय कुमार गिरीलाई तस्करले झुक्याएर उनको एउटा मिर्गौला भक्तपुर नपा–१ सल्लाघारीका ५१ वर्षीय थर्कबहादुर बस्नेतलाई मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा प्रत्यारोपण गराए । त्यसपछि जिल्लामा मिर्गौला तस्करहरु फेरि पनि सल्बलाएको आशङ्का गरियो । त्यसअघि विसं २०७१ फागुनमा नमोबुद्ध नपा–२ की दुई सन्तानकी एक ३५ वर्षीया गृहिणीले श्रीमान् विदेश जाँदाको ऋण तिर्न नसकेर तस्कर मार्फत रु तीन लाखमा एउटा मिर्गौला बेचेको घटना बाहिरिएको थियो ।
घटनाक्रमका तथ्याङ्कले करिब दुई वर्ष १० महिना सम्मको अवधिमा मिर्गौला तस्करीको घटना घटेको पाइएन । घटना बाहिर नआएको पनि हुनसक्ने काभ्रेपलाञ्चोकमा मानव अङ्ग बेचबिखन विरुद्ध चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनअधिकार संरक्षण मञ्च (पिपीआर)ले जनायो । “तस्करीका घटना बाहिर नआएको पनि हुनसक्छ, कोरोना सन्त्रासबीच मिर्गौला दिने र प्रत्यारोपण कर्ताको स्वास्थ्य संवेदनशीलताले नभएको पनि हुनसक्छ”, पिपीआरका निर्देशक शतिस शर्माले भन्नुभयो । उहाँका अनुसार सरोकारवाला निकायले यसबीचमा पनि मानव अङ्ग बेचविखन प्रति विशेष ध्यान दिनु जरुरी छ ।
घटना विवरणअनुसार काभे्रपलाञ्चोकको तत्कालीन होक्से र ज्याम्दी गाविसबाट २५ वर्ष अघिदेखि मिर्गौला तस्करी हुने गरेको थियो । तत्कालीन होक्से गाविस–१ स्थित एकै परिवारका सात जनाले मिर्गौला बेचेपछि उनीहरुले विसं २०६८ मा गाउँ नै छाडेर हिँडेका थिए । त्यसयता मिर्गौला तस्करी फस्टाउँदै गएपछि केही वर्षको अनुसन्धानबाट काभे्रपलाञ्चोक प्रहरीले विसं २०७० वैशाखमा १० मिर्गौला तस्करलाई पक्रेर थप अनुसन्धानपछि सात जनालाई कानूनी कारवाही नै गरेको थियो ।
त्यसपछिका केही वर्षमा मिर्गौला झिकेपछि शल्यक्रिया गरेर पठाउने गर्दा परिवार र छिमेकीसँग लुकेर नुहाउनुपर्ने बाध्यता हटेको भन्दै यहाँका अर्थावस्था कमजोर भएका परिवारलाई मिर्गौला बिक्री गराउन तस्करले थप हौस्याएको तथ्य समेत खुलेको थियो । त्यसअघि बिक्री गर्नेका मिर्गौला निकाल्दा पेटको बायाँतर्फ छ देखि आठ इन्च सम्मको टाँकाको खत देखिन्थे ।
दलाल मार्फत आफ्नो शरीरको महत्वपूर्ण अङ्ग मिर्गौला बेची छिमेकी र आफन्तले घृणा गर्ने डरले आफ्नो पीडा लुकाउँदै आएका जिल्लाका पुरुष पछिल्ला केही वर्षदेखि समाजमा खुलेरै चेतनशील अभियानमा लागेका छन् । भारतको दिल्लीमा नोकरीको लोभमा परी २१ वर्षअघि मिर्गौला बेचेका मण्डन देउपुर नपा–२ का नवराज मिजारले भन्नुभयो, “हामी चिरेको पेट छोपेर नुहाउने गथ्र्यौँ, तर मिर्गौला बेच्दा शरीर र परिवारमा हुने बेफाइदाबारे समाजमा चेतना बाँड्दैछौँ ।” उहाँ जिल्लाको मानव बेचबिखन सम्बन्धी सार्वजनिक कार्यक्रममा मिर्गौला झिकेको खतसमेत देखाउने गर्नुहुन्छ ।
नवराज भन्नुहुन्छ, “मैले मिर्गौला बेचेपछि दुखाई कम गर्न रक्सी खाने गर्थेँ, मिर्गौला बेचेको पैसा पनि सकेँ, जमिन पनि सकेँ, मैले रक्सी छाडेको पनि पाँच वर्ष भइसक्यो ।” उहाँलाई १५ वर्षअघि मिर्गौला बेच्नुभएका ज्याम्दीकै अर्का रामकुमार परियारले सहयोग गर्दै आउनु भएको छ । उहाँले आफूलाई पातले खेतका विनोद परियारले जागिरको लोभ देखाई भारतको चण्डीगढ पुर्याएर मिर्गौला बेच्न बाध्य पारेको बताउँदै यसबाट आफ्नो जीवन नै खतरायुक्त भएको बताउहुन्छ । उहाँ भन्नुहुन्छ, “भनेको जति पैसा पनि दिएनन्, त्यो पैसाले केही गर्न पनि सकिनँ, तर अन्यलाई मिर्गौला बेच्दाको असरबारे भन्ने गर्दै आएको छु ।”
मिर्गौला बेचेका ज्याम्दीकै गणेश परियार र अमिक परिवारले गाउँमा दलाललाई प्रवेश निषेध गरिएको बताउनुभयो । उहाँहरुले अब ज्याम्दीबाट कसैलाई पनि मिर्गौला बेच्नेजस्तो घृणित काममा लाग्न नदिने प्रण गर्नुभएको छ । “हामी खुलेरै लागेका छौँ, अब कसैको जीवन बर्बाद हुन दिन्नौँ”, गणेशले भन्नुभयो । उहाँहरुले आफ्नो अभियानमा साथ दिन प्रहरी, प्रशासनसँग अनुरोधसमेत गर्दै आउनुभएको छ ।
मिर्गौला बिक्री गर्नेले नै खुलेर यसविरुद्ध लाग्नु र सरोकारवाला संस्थाको अभियानले मिर्गौला तस्करी रोकिएको ठानिएको छ । पिपीआरका जिल्ला संयोजक कृष्णप्यारी कर्मी भन्नहुन्छ, “मिर्गौला बेचेपछि हुने गम्भीर शारीरिक समस्याबारे जानकारी दिएपछि पिडितहरु आफैँ चेतनामूलक अभियानमा लाग्नुभएको छ, यो निकै खुशीको अवस्था हो ।” पिपीआरको केही वर्षअघिको अध्ययन प्रतिवेदनमा पाँचखाल नगरअन्तर्गत होक्सेबाट ११२, पाँचखालबाट १०२ तथा मण्डनदेउपुर नगरको ज्याम्दीबाट ५६ ले आफ्नो शरीरको एउटा मिर्गौला बिक्री गरेको उल्लेख गरेको छ । यसमध्ये पुरुष भन्दा महिलाको सङ्ख्या तेब्बर देखिन्छ ।
कानूनमा मिर्गौला दान गर्न आफन्त हुनुपर्ने उल्लेख छ । गैरकानूनीरूपमा मिर्गौला बिक्री गराए मानव बेचविखन तथा ओसारपसार ऐन, २०६४ अन्तर्गत १० वर्ष कैद र रु दुई देखि पाँच लाख सम्म जरिवाना र सजाय हुनेछ । पीडकलाई गरिएको जरिवानामध्ये आधा रकम भने पीडितलाई क्षतिपूर्ति भराइदिने कानूनी व्यवस्था छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं विश्वकै प्रदुषित शहर
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७