

काठमाडौं । पर्यटन विभागले वितरण गरिरहेको पर्वतीय पथ प्रदर्शक इजाजतपत्र ‘माउन्टेन गाइड लाइसेन्स’ वितरण कार्य स्थगित भएको छ ।
विभागद्वारा आज जरुरी सूचनामा अदालतको उत्प्रेषणको आदेश जारी भएको भन्दै अर्को सूचना नआएसम्म परिचयपत्र वितरणसँग सम्बन्धित सम्पूर्ण कार्य स्थगित गरिएको जनाएको हो ।
विभागले नेपालको पर्वतीय पर्यटनलाई थप व्यावसायिक, मर्यादित तथा व्यवस्थित गर्नका लागि केहीदिन अघिदेखि पर्वतीय पथ प्रदर्शक इजाजतपत्र उपलब्ध गराएको थियो । पहिलो इजाजतपत्र विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पाले पाउनुभएको थियो ।
विश्वविख्यात आरोहीको चिरस्मरण हुनेगरी आरोहणलाई व्यवस्थित बनाउने उद्देश्यले शुरु गरिएको परिचयपत्र अदालतको आदेशका कारण हाललाई स्थगित गरिएको विभागका निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । “कीर्तिमानी आरोहीको सम्मान तथा आरोहणलाई व्यवस्थित गर्नेगरी इजाजतपत्र दिन खोजिएको हो । कतिपय आरोहीले हामीलाई मात्र हुनुपर्छ भनेर माग गर्नुभएको छ, अब अदालतको आदेशानुरुप अघि बढ्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो ।
विभागबाट हालसम्म ११० भन्दा बढीले इजाजतपत्र लिएका छन् । विभागले निश्चित मापदण्ड बनाएर नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले सिफारिस गरेको आधारमा यस्तो इजाजत दिन्छ । करिब एक हजार ५०० ले इजाजत लिने विभागको अनुमान छ ।
पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका, २०७० (चौथो संशोधन, २०७७) को दफा ५७(क) बमोजिम विभागले उक्त परिचयपत्र वितरण गरिँदै आएको थियो । सर्वोच्च अदालतको वादी लाक्पा रड्डु शेर्पा र प्रतिवादी नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय भएको उत्प्रेषण रिट नं ०७७ डब्लूओ ०९१२ तथा वादी तेण्डी शेर्पा र प्रतिवादी पर्यटन मन्त्रालय भएको उत्प्रेषण रिट नं ०७७ डब्लूओ ०९३० मुद्दामा चैत ९ गतेको उत्प्रेषणको आदेश जारी भएको विभागको सूचनामा उल्लेख छ ।
नौ आरोही समूहलाई आरोहण अनुमति
वसन्तयामको सगरमाथा आरोहणका लागि हालसम्म तीन आरोही समूहलाई आरोहण अनुमति प्रदान गरिएको छ । आज थप एक आरोही समूहलाई आरोहण अनुमति दिइएको विभागले जनाएको छ ।
त्यस्तै आजै ल्होत्से हिमाल आरोहणका लागि पहिलो आरोहण अनुमति जारी भएको विभागका निर्देशक आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार वसन्त आरोहणका लागि हालसम्म सगरमाथासहित नौ आरोही समूहलाई आरोहण अनुमति प्रदान गरिएको छ । सगरमाथामा तीन, अन्नपूर्णमा तीन तथा मनास्लु, नुप्से र ल्होत्सेमा समान एक÷एक समूहले आरोहण अनुमति लिएका छन् ।
पर्यटनबाट थप समाचार
रानीपोखरी अब सबैका लागि खुल्ला
राप्ति नदीमा गोही छाडियो
भिजिविलिटी कमजोर हुँदा कैयौँ हवाई उडान प्रभावित
अन्नपूर्णले पोतेको खुसीका रङ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७