

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्क अनुसार जिल्ला भरका स्वास्थ्य संस्थामा आर्थिक वर्ष २०७६/७७ मा स्वास्थ्य जाँच गराउने गर्भवती महिलामध्ये ११ प्रतिशत २० वर्षभन्दा कम उमेरका किशोरी रहेका छन् ।
राज्यले विवाहको उमेर २० वर्ष भन्दा माथि कायम गरेको भए पनि जिल्लामा २० वर्ष नपुग्दै विवाह गर्ने किशोरी गर्भवती हुने क्रम बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताउनु भयो ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा जिल्ला भरीबाट तीन हजार ६४५ ले स्वास्थ्य संस्थाबाट सुरक्षित रुपमा प्रसूति सेवा लिएका छन् । सानै उमेरमा विवाह गर्ने गरेका कारण उमेर नपुग्दै आमा बन्नेको सङ्ख्या ठूलो रहेको बताइएको छ ।
अघिल्ला वर्षको तुलनामा उमेर नपुग्दै आमा बन्नेको सङ्ख्या घट्दै गएको भए पनि अझै पूर्ण रुपमा अन्त हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार जिल्लामा आव २०७४/७५ मा २० प्रतिशत महिला २० वर्ष भन्दा कम उमेरमा नै आमा भएको देखिएको छ भने आव २०७५/७६ मा १७ प्रतिशत र आव २०७६/७७ मा ११ प्रतिशत महिला उमेर नपुग्दै आमा बनेका छन् ।
सो कार्यालयका अनुसार चालू आर्थिक वर्षको साउन महिनायता जिल्लामा सुरक्षित गर्भपतन सेवा लिने ६९९ मध्ये १७ जना २० वर्षभन्दा कम उमेरका रहेको बताइएको छ ।
चालू आर्थिक वर्षको साउनयता मात्र दिपायल सिलगढी नगरपालिका क्षेत्र भित्रमा मात्रै ७० जना २० वर्षभन्दा कम उमेरका गर्भवतीले अल्ट्रासाउण्ड सेवा लिएको पाइएको छ । जिल्लामा सानै उमेरमा आमा बन्ने किशोरीको सङ्ख्या बढ्दै जान थालेपछि यसले आमा र बच्चाको स्वास्थ्यमा समेत समस्या आउने गरेको शैलेश्वरी अस्पताल दिपायलका स्वास्थ्यकर्मी आइजङ्ग कुँवरको भनाइ छ ।
प्रदेश ५बाट थप समाचार
लुम्बिनीमा पर्यटकलाई स्थानीय उपहार
अभिभावक गुमाएका बालबालिकालाई गाउँपालिकाले पढाउने
लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढ्दो
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७