

बागलुङ । बागलुङको गलकोटका तीनवटा सामुदायिक वनमा लागेको आगो झण्डै १८ घण्टा पछि नियन्त्रणमा आएको छ । सोमबार दिउँसो देखि गलकोट नगरपालिका–५ र ७ का सामुदायिक वनमा लागेको आगो स्थानीयवासी र प्रहरीको सक्रियतामा आज बिहान नियन्त्रणमा आएको हो ।
वन पैदावार र बस्तीसमेत जोखिममा परेपछि सामुदायिक वनका उपभोक्ताहरू रातभर आगो नियन्त्रणका लागि खटिएको ठूलाचौर महिला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष थुमकुमारी थापाले जानकारी दिनु भयो ।
आगलागीका कारण गलकोट नगरपालिका–५ को दानसिङडाँडा सामुदायिक वन, गगनपानी सामुदायिक वन र वडा नं ७ को ठूलाचौर सामुदायिक वनमा करोडौँ रुपैयाँको क्षति भएको उहाँले बताउनुभयो । भैंसे दानसिङडाँडा सामुदायिक वन गलकोट नगरपालिका–५ देखि शुरु भएको आगो गगनपानी सामुदायिक वन हुँदै छिमेकी वडाको ठूलाचौर सामुदायिक वनसम्म फैलिएको थियो ।
राति स्थानीयवासीले अग्नि रेखा निर्माण गरी बिहान आगो नियन्त्रण गरिएको गलकोट नगरपालिका–७ का वडाध्यक्ष सुवेदार टीकाबहादुर थापाले जानकारी दिनु भयो । ठूलाचौर सामुदायिक वनको मल्म खोलापारि देखि मान्दारादानसिङ जोड्ने गोरेटो बाटो सफा गरी स्थानीयवासीले अग्नि रेखा निर्माण गरेका थिए । करीब २०० मानिसले लाइनमा बसी स्याउला, बाल्टीमा पानी बोकेर आगो निभाउन सफल भएको ठूलाचौर सामुदायिक वन उपभोक्ता समितिका सचिव सुनिता साहानी थापाले बताउनु भयो । मोबाइल र टर्च लाइटको सहारामा आगो निभाउन सफल भएको समाजसेवी बाबुराम थापाले बताउनु भयो ।
जङ्गल नजीकै रहेको बस्ती खोलापारि, साहानीडाँडा, नरौदी र मान्दारा आगोको उच्च जोखिममा रहेका थिए । आगो झण्डै १७/१८ घण्टापछि नियन्त्रमा आएको हो । आगलागीका कारण दानसिङ डाँडा सामुदायिक वनको झण्डै ४० हेक्टर क्षेत्रफल, गगनपानी सामुदायिक वनको पाँच हेक्टर र ठूलाचौर सामुदायिक वनको ८० हेक्टर जङ्गल जलेको छ । वन क्षेत्रमा आगलागी हुँदा वनमा रहेका जीवजन्तु, चराचुरुङ्गी र रूखबिरुवा जलेर नष्ट भएका छन् ।
आगलागीले तीनवटा सामुदायिक वनमा करोडौँ मूल्यको क्षति भएको छ । आगो निभाउन इलाका प्रहरी कार्यालय गलकोट, गलकोट नगरपालिका–५ हरिचौर, टेउवा, दानसिङ डाँडा, मान्दारा, सर्दाखेतका स्थानीयवासी रातभर खटिएका थिए ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७