TRENDING

कोरियाले अवैधानिक बच्चालाई वैधानिकता दिने तयारी

सउल । दक्षिण कोरिया सरकारले यहाँ रहेका अवैधानिक विदेशी कामदार बाट जन्मिएका सबै बच्चालाई वैधानिकता दिने तयारी गरेको छ । दक्षिण कोरिया भित्र जुनसुकै ठाउँमा र जुन कुनै देशका नागरिक भए पनि तिनीहरू मार्फत जन्मिएका बच्चालाई वैधानिक तवरले दर्ता गरिने भएको हो । यहाँको कानून मन्त्रालयका अनुसार कुनै पनि बच्चा बालअधिकार तथा सरकारी सुविधाबाट वञ्चित नहुन् भन्ने उद्देश्य अनुरुप सो नियम ल्याउन लागिएको हो ।

यहाँका कानूनमन्त्री पार्क बेओम्कले बाल अधिकारको जगेर्ना, बच्चा बेचबिखन उन्मूलन तथा बच्चाको मानव अधिकारको रक्षा गर्न यो कानूनले सहयोग गर्ने बताउनु भएको छ । यो कानून लागू भएपछि ती बच्चाले अनिवार्य शिक्षा तथा खोप कार्यक्रममा समेत सहभागी हुन पाउने उहाँले बताउनु भएको छ । त्यस्ता बच्चाले बीमालगायत अन्य सरकारी तथा सामाजिक सुविधा पनि प्राप्त गर्नेछन् ।

यदि कुनै विदेशी श्रमिक कोरियामा अवैधानिक बसोबास गरिरहेका छन् र यही अवधिमा उनीहरूको बच्चा जन्मिएको छ भने बच्चासँगै उनीहरूले पनि वैधानिकता प्राप्त गर्नेछन् । हालसम्म कोरियामा अवैधानिक बस्ने तथा कोरियालीसँग विवाह गरी आएर पारपाचुके गरी अवैधानिक विदेशीसँग पुनः विवाह गर्ने महिलाबाट जन्मिएको बच्चाले कानूनी मान्यता प्राप्त नगर्ने व्यवस्था थियो । कोरियामा हालसम्म यस्तै तवरले जन्मिएर दर्ता नभएका करिब २० हजार बढी बच्चा भएको अनुमान छ ।