

काठमाडौं । पर्यटकीय नगरी सौराहा प्रणय दिवस (भ्यालेन्टाइन डे) मा आन्तरिक पर्यटकले भरिभराउ भएको छ । शुक्रबार र शनिबारको बिदा र यसपछिको प्रणय दिवसले आन्तरिक पर्यटकको आगमन उत्साहजनक भएको हो । रेष्टुरेन्ट एण्ड बार एसोशिएसन (रेबान) सौराहाले यही अवसरमा खाद्य महोत्सवको समेत आयोजना गरेको छ । रेबानका निवर्तमान अध्यक्ष गोकर्ण गिरीका अनुसार सौराहाको हात्तीचोकदेखि गैँडाचोकसम्मको ६०० मिटर सडक किनारमा विभिन्न परिकारका कक्ष राखिएका छन् । दुईदिने महोत्सव आजसम्म जारी रहनेछ ।
महोत्सवका अवसरमा विभिन्न जातिका सांस्कृतिक पहिचान झल्कने खानाका परिकार राखिएका छन् । यस्तै ती जातिले सांस्कृतिक प्रदर्शनीसमेत प्रस्तुत गरिरहेका छन् । उहाँका अनुसार आज ब्राह्मणसहित विभिन्न जातिका नौ जातीय सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछन् । थारु, तामाङ, कुमाल, मगर, नेवारलगायत जातिले आआफ्ना संस्कृति झल्कने प्रस्तुति देखाउने छन् । अध्यक्ष गिरीले भन्नुभयो, “अन्य व्यवसायी पनि उत्साहित भएका छन् ।” सबैले यस्ता कार्यक्रम हरेक शुक्रबार गर्न सुझाएको उहाँले बताउनुभयो । स्वीकृति पाएमा रेबानले हरेक हप्ता कार्यक्रम गर्ने उहाँको भनाइ थियो । क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेका अनुसार शनिबार देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहाका सबै होटल भरिएका थिए ।
देशका विभिन्न क्षेत्रबाट आन्तरिक पर्यटक घुम्न आएका छन् । समूहगतरुपमा घुम्न आउनेको सङ्ख्या पनि राम्रो रहेको उहाँको भनाइ छ । सङ्घका अध्यक्ष दीपक भट्टराईले आज पनि सौराहाका सबै होटल भरिने अपेक्षा गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “लगातार बिदा र त्यसपछि परेको प्रणय दिवसले सौराहा भरिएको छ ।” अंग्रेजी नयाँ वर्षको दिनपछि शनिबार सबैभन्दा बढी पर्यटक सौराहा आएको उहाँको भनाइ छ ।
पर्यटकको सङ्ख्या बढेसँगै अन्य पर्यटकीय गतिविधि पनि चलायमान भएको छ । हात्ती सफारी, डुङ्गा शयर, जीप सफारी, थारु सांस्कृतिक प्रदर्शनीसँगै अन्य व्यवसायमा पनि सकारात्मक प्रभाव देखिएको छ । राति अबेरसम्म सौराहाका राप्ती नदी किनारका रेष्टुरेन्टमा पर्यटक रमाउने गरेका छन् । सौराहामा पाँच हजार ५०० पर्यटकलाई एकैपटक राख्नसक्ने क्षमता छ । यहाँ १२० होटल र करीब १०० रेष्टुरेन्ट सञ्चालनमा छन् । मुख्यरुपमा चितवन राष्ट्रिय निकुञ्जका दुर्लभ वन्यजन्तु अवलोकनका लागि यहाँ पर्यटक आउने गर्छन् । विशेष पर्वमा भने सौराहा घुम्नका लागि मात्रै पनि पर्यटक आउने गर्दछन् ।
घुमफिरबाट थप समाचार
पछिल्ला वर्षमा पर्यटन आगमन दर वृद्धि
रानीपोखरी अब सबैका लागि खुल्ला
राप्ति नदीमा गोही छाडियो
सुक्खा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७