TRENDING

शहीदका शालिक चोरी

जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर–जनकपुर सडक खण्डको परिकौली चौकमा स्थापना गरिएको मधेश आन्दोलनका दुई शहीदको शालिक गएराति चोरी भएको छ ।

मधेश आन्दोलन २०७२/७३ मा महोत्तरी जिल्लामा सुरक्षाकर्मीको गोली लागि शहीद भएका जलेश्वर नगरपालिका– ११ का वीरेन्द्र विच्छा र वडा नं ९ का राजेश ठाकुर दुवै जनाको शालिक चोरी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनु भयो ।

वडा नं ११ र वडा नं ९ को साझा चोकको रुपमा रहेको परिकौली चौकमा ५/७ फिट अग्लो बुर्जा माथि राखिएको दुवै जनाको प्रतिमा (शालिक) आज बिहान सो स्थानमा नरहेको वडा नं ९ का वडाध्यक्ष रवीन्द्र यादवले बताउनु भयो । वडाध्यक्ष यादवले गएराति ११/१२ बजेसम्म शालिक चोकमै रहेको स्थानीयवासीको भनाई उद्धृत गर्दै मदिरा सेवन गर्नेहरुले शालिक चोरी गरेको हुनसक्ने आशङ्का व्यक्त गर्नुभएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट आज बिहानैदेखि प्रहरी टोली परिचालन गरी शालिकको व्यापक रुपमा खोज तलाश भइरहेको र घटनामा संलग्न व्यक्तिको पनि खोज तलाश भइरहेको प्रहरी उपरीक्षक टीका बहादुर केसीले बताउनुभयो ।