TRENDING

निर्वाचन तयारीमा जुटे निर्वाचन कार्यालय

चरीकोट । सरकारले आगामी वैशाखको १७ र २७ गते आम निर्वाचनको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय दोलखा निर्वाचनका तयारीमा जुटेको छ । कार्यालयले निर्वाचन आयोगको निर्देशनअनुसार प्रत्येक स्थानीय तहमा नामावली अद्यावधिक र हरेक मतदान स्थलको स्थलगत अनुगमनको काम अघि बढेको कार्यालय दोलखाका प्रमुख गोमा धमालाले जानकारी दिनुभयो ।

विसं २०७४ मा सम्पन्न भएको निर्वाचनमा जिल्लामा तोकिएको मतदानस्थल मतदान केन्द्रका बारेमा परिवर्तन गर्नुपर्ने वा थपघट गर्नुपर्ने विषयमा गाउँपालिकाबाट सुझाव आएसँगै प्रमुख जिल्ला अधिकारी सहितको टोलीले अवलोकन गर्ने र यही माघ १२ गते आयोजना गरेको बैठककमा सुझाव पेश गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।

कार्यालयले मतदाता नामवली अद्यावधिक तथा मतदानस्थलका विषयमा यही माघ ७ गते जिल्लाको सर्वदलीय बैठक बसी छलफल गरिसकेको छ । सर्वदलीय बैठकमा गौरिशङ्कर, शैलुङ र वैत्येश्वर गाउँपालिकाका विभिन्न वडामा रहेको मतदान स्थल परिर्वतन गर्नका लागि सिफारीस भएको थियो । सात गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लाको स्थानीय तहमा तीन गाउँपालिकाबाट मतदानस्थल परिर्वतनका लागि सिफारीस भएसँगै प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटी सहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको टोलीले अनुगमन गरिरहेको छ । सुरक्षा समितिको अनुगमन पश्चात् सुझाव अनुसार मतदान स्थल परिर्वतन वा थप घट गर्ने विषयमा निणर्य हुने कार्यालय प्रमुख धमलाले जानकारी दिनुभयो ।

निर्वाचनको घोषण गरेसँगै गतपुस ५ गतेदेखि तस्वीर सहितको मतदाता नामावली थप गर्न रोक लगाएपछि मतदाता नामावली अद्यावधिक गर्न लागिएको हो । एक सङ्घीय र दुई प्रदेश निर्वाचन क्षेत्र रहेको जिल्लामा कार्यालयले यही माघ १५ गतेदेखि २१ गतेसम्म दुई नगरपालिका र सात गाउँपालिका गरी नौ स्थानीय तहका केन्द्रमा मतदाता नामवली अद्यावधिक गर्न लागेको छ ।

उक्त कार्यक्रमअनुसार माघ १५ गते सबै मतदान केन्द्रमा मतदाता नामवली प्रकाशन हुने र १६ देखि १८ गतेसम्म मतदाता नाम वा विवरणमा भएको त्रुटि सच्याएन, दोहोरो नाम हटाउन, झुठो विवरण पेश भएका सच्याउनका लागि उजुरी गर्न सकिने जनाइएको छ ।

कार्यालयले प्रत्येक स्थानीय तहमा निर्वाचन सम्पर्क व्यक्तिको छनोट गरिसकेको छ । सात गाउँपालिका बाट पाँचौँ तहका कर्मचारी र दुई नगरपालिका बाट छटौँ तहका कर्मचारी मध्येबाट स्थानीय तह निर्वाचन सम्पर्क व्यक्ति छनोट गरिसकेको छ । छनोट भएका निर्वाचन सम्पर्क व्यक्तिलाई कार्यालयले आज १ दिनको प्रशिक्षण आयोजना समेत गरेको छ । स्थानीय तह निर्वाचन सम्पर्क व्यक्तिलाई तालीम दिइसके पछि प्रत्येक स्थानीय तहमा खटाउने तयारी भइरहेको छ ।