TRENDING

निःशुल्क स्वास्थ्य शिविर

कलैया । बाराको सिम्रौनगढ नगरपालिका–५ स्थित रहेको उचिडिह प्राथमिक स्वास्थ्य कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम आज सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालय नं २ प्रदेश, नेपाल औषधि उत्पादक सङ्घ, सैनिक अस्पताल पोखरा, बारा जिल्लामा चन्दननाथ गण र नं २८ फि। ए। गुल्मको संयोजकत्व र सिम्रौनगढ नगरपालिकाको आयोजनामा स्वास्थ्य शिविर गरिएको थियो ।

नेपाली सेना र नागरिक बीचको सम्बन्धलाई प्रगाढ बनाउन र जनतासँग प्रत्यक्ष घुलमिल गर्न सहयोग पुयाउने उद्देश्यले शिविरको आयोजना गरिएको श्री नम्बर २८ वाहिनीका वाहिनीपति जोनसन खड्काले जानकारी दिनुभयो । श्री नं २८ फि।ए। का स्वास्थ्य कर्मी सम्मिलित नेपाली सेनाको टोलीले स्थानीयवासीको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरेका थिए । ‘दुःखको बेला नेपाली सेना जनतासँग’ भन्ने नेपाली सेनाको अभियान अनुसार कोरोना भाइरस तथा आर्थिक विपन्नताका कारण औषधि उपचार गराउन नपाएका सर्वसाधारणको उपचार गरिएको चन्दननाथ गणका गणपति श्यामशरण गोतामेले बताउनुभयो ।

स्वास्थ्य शिविरमा करीब ७०० जना सर्वसाधारणको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको थियो । शिविरमा १८९ महिला, १४५ पुरुष र ७६ जना बालबालिकाको स्वास्थ्य परीक्षण गरी औषधि पाएका हुन् । महिलामा धेरै सन्तान जन्माउने कारणले हुने समस्या सो शिविरमा उपचारका लागि आएका अधिकांश महिलामा देखिएको थियो, चिकित्सक अधिकृत सहसेनानी दृष्टिना प्रधानले बताउनुभयो । स्वास्थ्य परीक्षण गर्दा स्थानीयवासीमा श्वासप्रश्वास, ग्यास्ट्रिक, हाडजोर्नी, एलर्जी, आँखाको समस्या, पेट सम्बन्धीका रोगहरु बढी मात्रामा देखिएको र शिविरमा स्थानीयवासीलाई सामान्य स्वास्थ्य परीक्षण, दन्त सेवा, इसिजी लगायत सेवाहरु प्रदान गरी निःशुल्क औषधि वितरण गरिएको थियो ।

श्री नं २८ फिल्ड एम्बुलेन्सका चिकित्सक अधिकृत सहसेनानी प्रधानको नेतृत्वमा १५ जना मेडिकल टोलीले जाँच गर्नुभएको थियो । आफ्नै गाउँठाउँमा निःशुल्क स्वास्थ्य उपचार तथा औषधि पाएपछि सिम्रौनगढ नगरपालिका–१० का जगदीश पण्डितले खुशी गर्दै नेपाली सेनालाई धन्यवाद दिनुभएको थियो । श्री नं २८ वाहिनी अड्डाका वाहिनीपति खड्काको समन्वयमा सञ्चालित उक्त स्वास्थ्य शिविरको सिम्रौनगढ नगरपालिकाका प्रमुख विजयशङ्कर यादवले उद्घाटन गर्दै शिक्षा, स्वास्थ्य, सरसफाइ, सुशासन कायम गर्नका लागि आफूले काम अगाडि बढाइरहेको बताउनुभयो ।