

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले गाउँसभामा मतदानको माध्यमबाट अस्पताल बनाउने ठाउँ छनोट गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा बुधबार सम्पन्न नवौँ गाउँसभाले बहुमतको आधारमा वडा नं १ बेगको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरेर १० शय्या क्षमताको अस्पताल बनाउने निर्णय गरेको हो । मौवाफाँट, पिप्ले र बेग मध्ये कहाँ अस्पताल बनाउने भन्ने विषयमा जनप्रतिधिबीच सहमति जुट्न नसकेपछि निर्णयका लागि गाउँसभामा मतदान गराइएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले गाउँसभा सदस्यको बहुमतबाट बेगमा अस्पताल निर्माण गर्ने निर्णय भएको जानकारी दिनुभयो । “४२ जना गाउँसभा सदस्यमध्ये सभामा ३५ जनाको उपस्थिति थियो”, उहाँले भन्नुभयो “मतदानमा सहभागी ३० मध्ये २६ जनाले बेग र चार जनाले मौवाफाँटको पक्षमा मत हाल्नुभएको थियो ।”
बहुमतबाट स्थान छनोट गर्ने निर्णयमा वडा नम्बर ३ पिप्लेका वडाध्यक्ष जीवनकुमार मल्ल र तीन जना जनप्रतिनिधिले फरक मत राख्नुभएको छ । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी र उपाध्यक्ष कमला तिलिजाले मत जाहेर गर्न नपरेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेढ वर्षअघि एक स्थानीय तह एक अस्पताल कार्यक्रमअन्तर्गत रघुगङ्गा–१ बेगलाई छनोट गरेको थियो ।
विसं २०७७ कात्तिक २० गतेको कार्यपालिका बैठकले सबै पालिकावासीलाई सेवा लिन पायक पर्ने र सहज हुने भएकाले पिप्ले स्वास्थ्यचौकीलाई स्तरोन्नति गर्दै गाउँपालिकाको केन्द्रमा व्यवस्थापन गरेको जग्गामा १० शय्या क्षमताको अस्पताल बनाउने निर्णय गरेको थियो ।
मौवाफाँटमा अस्पताल बनाउने आशयले निर्णय गरिए पनि स्वास्थ्य मन्त्रालयले पछिल्लोपटक अस्पतालमा स्तरोन्नति हुने स्वास्थ्यचौकीको सूचीमा पिप्ले स्वास्थ्यचौकीलाई राखेको थियो । ठाउँको विवादका कारण मङ्सिर १५ गते तय गरिएको अस्पताल शिलान्यास कार्यक्रम हुन सकेको थिएन । बेगको देउरालीमा अस्पताल भवन निर्माणका लागि स्थानीयवासीले नौ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको वडाध्यक्ष बिलप्रसाद फगामीले बताउनुभयो । लोकबहादुर, हिमबहादुर र मेजन फगामीले पाँच रोपनी तथा देउबहादुर, टुकबहादुर, दानबहादुर पुर्जा र जीतबहादुर गर्बुजाले चार रोपनी जग्गा उपलब्ध गराउनुभएको छ ।
मुख्य समाचारबाट थप समाचार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७