
बागलुङ । विदेशको कमाइ कुम्ल्याएर श्रीमान् फरार भएको भन्दै एक महिलाले श्रीमान्को खोजी गर्नुभएको छ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराकी एक महिलाले सरोकारवालालाई खोजी गरिदिन अनुरोध गर्नुभएको हो ।
श्रीमान् प्रेम पौडेलले जापानमा रहँदा आफूसमेतले कमाएको रकम बोकेर फरार भएको भन्दै सरीता सुवेदी पौडेलले जिल्ला प्रहरी कार्यालय बागलुङ र आप्रवासी स्रोत केन्द्र बागलुङलाई अनुरोध गर्नुभएको हो ।
तीन वर्ष पहिले श्रीमान्सँग ‘डिपेन्डेण्ट’ (आश्रित) भिसामा जापान पुग्नुभएकी उहाँले दुई वर्षसम्म कमाएको रु ७१ लाख नगद लिएर श्रीमान् फरार भएको प्रहरीमा दिएको निवेदनमा उल्लेख छ । विसं २०७१ मा विद्यार्थी भिसामा जापान पुगेका प्रेमले तीन वर्ष पहिला सरीतालाई डिपेन्डेण्ट भिसामा जापान लग्नुभएको थियो ।
बागलुङ नगरपालिका–१४ नारायणस्थान माइतीघर भएकी सरीता र प्रेमबीच विसं २०६७ मा परम्परागत विवाह भएको थियो । “जापान पुगेपछि दुई वर्षको भिसा लगाइदिनुभयो, काम पनि थालेँ, तर कमाइ मैले राख्न पाइनँ”, उहाँले भन्नुभयो, “कुटपिट गरेर सबै पैसा लगेपछि म शरणार्थी बन्नुपर्यो ।” उहाँले जापान पुगेदेखि नै सम्बन्ध राम्रो नभएको बताउनुभयो ।
धेरैपटक सम्बन्ध सुधार गर्न खोजे पनि श्रीमान् फरार भएको उहाँले बताउनुभयो । लामो समय सम्बन्धमा दरार आएपछि उहाँहरू एनआरएनए जापान र बलेवा सेवा समाजको पहलमा नजिकिनुभएको थियो । भिसा सकिएपछि डिपेन्डेण्टमा जापान पुगेकालाई सहमति आवश्यक पर्छ । श्रीमान्ले सहमति नदिएपछि एक वर्षसम्म शरणार्थीका रूपमा आफन्तकोमा बस्नुपरेको सुवेदीले बताउनुभयो ।
“पछि छलफल भएर नेपालसँगै फर्किने, सँगै बस्ने र फर्किँदा भिसाको प्रक्रिया गर्ने भनेपछि नेपाल आयौँ, नेपाल आएपछि काठमाडौँमा दुई दिन र बागलुङमा १२ दिनको क्वारेन्टिइन बसेर उहाँ फरार हुनुहुन्छ”, उहाँले भन्नुभयो, “होटलमा क्वारेन्टिनका फरक–फरक कोठा थिए, मङ्सिरको २३ गतेदेखि सम्पर्क छैन ।” उहाँहरू मङ्सिरको १३ गते नेपाल आउनुभएको थियो । सँगै आएको श्रीमान् र कमाएको पैसासमेत नरहेकाले आफू बेसहारा भएको भन्दै उहाँले खोजीका लागि आग्रह गर्नुभएको हो ।
उहाँहरूको आठ वर्षको छोरा छन् । “पहिले देवरसँग घरमा रहेको छोरा माइतीमा राखेकी छु”, उहाँले भन्नुभयो, “पहिलेदेखि नै मसँग टाढिन चाहनुभएका श्रीमान् हराउनुभयो, मेरो न टेक्ने डाली छ न समाउने हाँगा ।” सुवेदीले निवेदन दिएपछि ७७ वटै जिल्ला प्रहरी कार्यालय र त्रिभुवन विमानस्थलमा समेत प्रहरीले फरार भएका उनका श्रीमान्को हुलिया पठाएको छ ।
“हामीले खोजी थालेका छौँ, तर केही पत्ता लागेको छैन”, प्रहरी निरीक्षक विजय भण्डारीले भन्नुभयोे, “हाम्रो ‘इन्क्वायरी’भन्दा उनी पहिलै देशभन्दा बाहिर पुगेको पनि हुनसक्छन् ।” यता परिवारले भने प्रेम र सरीताबीचको सम्बन्धका विषयमा जानकारी नभए पनि घरमा आएर सरीताले बस्न नचाहेका कारण समस्या पैदा भएको बताएको छ ।
समाचारबाट थप समाचार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७