TRENDING

घुस लिने ४ जना कर्मचारी नियन्त्रणमा

वीरगञ्ज । घुस लिएको आरोपमा गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका ४ जना कर्मचारी नियन्त्रणमा परेका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले उद्योग अनुगमनको क्रममा नीजहरुलाई नियन्त्रणमा लिएको छ ।

सो कार्यालयका सहायक निरीक्षक विरेन्द्र उपाध्याय, कार्यालय सहयोगीहरु पदम बहादुर रोक्का, सत्य नारायण चौधरी र सवारी चालक उदय प्रताप सिंहलाई प्रशासनले बिहिबार नियन्त्रणमा लिएको बताइएको छ । एक टेक्सटायल उद्योग अनुगमनक्रममा गएका उनीहरुले ११ हजार रुपैयाँ घुस लिएको पुष्टि भएकाले नियन्त्रणमा लिइ कारबाहि अघि बढाइएको पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिनुभयो ।

सो स्थानका केही उद्योगमा नापतौल कार्यालयबाट अनुमति नलिई तौल गर्ने गरेको भन्ने सूचनाका आधारमा अनुगमनका लागी गएका नीजहरु भनेको उद्योग नगई टेक्सटायल अनुगमन गर्न गएको र त्यहाँको मेसिन खराब भएको भन्दै नियन्त्रणमा लिई बार्गेनिङ गरेका थिए । सोहि क्रममा पक्राउ परेका नीजहरुले ११ हजार रुपैंया लिई काँटा फिर्ता गरिदिएका बताइएको छ ।

घुस लिएको उजुरी प्रमुख जिल्ला अधिकारी तामाङ समक्ष आएपछि उनीहरुलाई जिल्ला प्रशासन बोलाइएको थियो । कर्मचारीहरुले ११ हजार घुस लिएको र गाडीमै बाँडफाँट गरेको स्वीकार गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।