TRENDING

चिनियाँ रक्षामन्त्री काठमाडौंमा , यस्तो हुँदैछ कार्यक्रम !

काठमाडौं । चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेइ फेङ्गे औपचारिक भ्रमणका क्रममा आज काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गृहमन्त्री रामबहादुर थापा बादलले स्वागत गरेका छन् ।

रक्षामन्त्री जनरल वेईले आज प्रधानसेनापति पूर्णचन्द्र थापासँग जंगी अड्डामा औपचारिक वार्ता गर्ने तथा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेर बंगलादेश प्रस्थान गर्नेछन् । चिनियाँ रक्षामन्त्री २० सदस्यीय प्रतिनिधिमण्डलसहित आइपुगेका हुन् । गत बर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङ्को भ्रमणपछि चीनबाट पहिलोपटक मन्त्रीस्तरीय पाहुना आएका हुन् । कोभिड १९ को महामारीपछि चीनबाट आउने उनी नै सबैभन्दा उच्च अधिकारी हुन् ।

उपप्रधानमन्त्री एवं निवर्तमान रक्षामन्त्री पोखरेलले २०७५ कात्तिकका चीनको औपचारिक भ्रमणका क्रममा रक्षामन्त्री वेइसँग द्विपक्षीय वार्ताका क्रममा नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए । प्रधानसेनापति थापाले पनि चीन भ्रमणका बेला रक्षामन्त्री वेईसँगको भेटवार्तामा नेपाल भ्रमणको निम्तो स्मरण गराएका थिए ।

नेपालमा चीनबाट तीन बर्षपछि रक्षामन्त्रीको भ्रमण भएको हो । तत्कालीन रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चिनियाँ रक्षामन्त्री एवं स्टेट काउन्सिलर जनरल चाङ वाङ्क्वानले २०७३ चैत १० देखि १२सम्म नेपालको औपचारिक भ्रमण गरेका थिए । त्यसपछि चिनियाँ रक्षामन्त्री नेपाल आएका छैनन् । कोभिड १९ को महामारीका कारण एक बर्षयता नेपाल र चीनबाट उच्चस्तरीय भ्रमण हुन सकेको छैन । कोभिड १९ का कारण चीनबाट जनमुक्ति सेनाका प्रमुख लि जुओचेङको नेपाल भ्रमण हुन सकेन ।

सैनिक प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलका अनुसार चिनियाँ रक्षामन्त्रीलाई जंगी अड्डामा अपरान्ह डेढ बजे सेनाको टुकडीले सम्मान गारत गार्ड अफ अनर अर्पण गर्ने कार्यक्रम छ ।