TRENDING

नेपाल संवत् नेवार समुदायको मात्रै नभई सबैको साझा संवत् होः मन्त्री श्रेष्ठ

काठमाडौं । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल संवत् ११४१ को अवसरमा मध्यपुरथिमिस्थित शंखधर साख्वाःको प्रतिमामा माल्र्यापण गरेका छन् ।

सो अवसरमा उनले नेपाल संवत् एकलजातिको मात्र नभई सबै नेपालीको मौलिक संवत् भएको बताए ।

‘अहिले यो संवतलाई सरकारले राष्ट्रिय संवत् घोषणा गरे पनि सबै नेपालीले यसलाई अपनत्व गर्न नसकेकाले यसलाई नेवार समुदायको मात्र भनेर गलत बुझाइ रहेको छ। अब यसलाई सबैको संवत् बनाउनु आवश्यक छ’ उनले भने ।

विगतमा भाइटीका र किजा पूजा एकै दिन गरिँदै आएकोमा केही वर्षदेखि फरक फरक दिनमा मनाउन थालिएको प्रसंङग कोट्याउँदै उनले केही वर्षयता तिथिमा देखिएको घटबढका कारण दुई दिन मनाइने प्रचलनलाई आगामी वर्षदेखि समायोजन गरेर एकै दिन मिलाउनु आवश्यक रहेको बताए ।

नेपाल सवंतको नयाँ दिनले हरेक वर्ष प्रणेता शंखधर साख्वाःको योगदानलाई सम्झाउने गरेको भन्दै उनले समाजसेवी साख्वाःले सबैको ऋण मोचन गरिदिएको परोपकारी कार्यको सम्झनामा उदारताको कदर गरेर राष्ट्रिय विभूतिको रूपमा सम्मान गरिएको बताए। जनताको ऋण मोचन गरेर मौलिक सम्वते चलाउने ब्यक्तित्व कुनै जातविशेषको मात्र नहुने उनले बताए ।

मन्त्री श्रेष्ठले सरकारले राजधानीको रत्नपार्कमा शंखधरको शालिक बनाइ रहेको उल्लेख गर्दै नेपाल सवंतलाई सरकारी कामकाजमा तथा व्यवहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको बताए ।

राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानद्वारा आयोजित सो कार्यक्रममा विधिन्न व्यक्तिले शंखधर तथा नेपाल सवंतलाई सरकारले संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।