TRENDING

रानीपोखरी स्थित बालगोपालेश्वरको मन्दिर पाँचवर्ष पछि आज खुल्यो

काठमाडौं । वर्षको एकदिन मात्र खुल्ने बालगोपालेश्वरको मन्दिर पाँचवर्ष पछि आज भने खुल्ला भएको छ । रानीपोखरी र मन्दिर जीर्णाेद्धार गर्ने क्रममा सो मन्दिर पनि गत ५ वर्षदेखि बन्द हुने गरेकोमा यो वर्ष भने खुलेको हो । काठमाडौं रानीपोखरी स्थित सो मन्दिर तिहारको भाईटिकाको दिन मात्र खोल्ने प्रचलन रहेको थियो । २०७२ को भुकम्पका कारण क्षति पुगेपछि मुर्तिलाई छाउनी संग्रहालयमा राखिएको थियो । भने यसअघिका तिहारमा भाईटिकाको दिन रानीपोखरी बाहिर मुर्ति राखेर पुज्ने गरिएको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २७ करोड रुपैयाँ खर्चेर कात्तिक महिनामा रानीपोखरी पुनर्निर्माण सम्पन्न गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले गएको कात्तिक ५ गते रानीपोखरी उदघाटन गर्नुका साथै बालगोपालेश्वरको प्राणप्रतिष्ठा पूजा गर्नुभएको थियो । विज्ञ समूहको प्रतिवेदनअनुसार रानीपोखरीको बालगोपालेश्वर मन्दिर प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमै पुनर्निर्माण गरिएको छ ।

जयबागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् डा. गोविन्द टण्डनले जानकारी दिनुभयो ।

विक्रम संवत् २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्छ’, टण्डनले बताउनुभयो ।

विक्रम संवत् २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर भाइटीकाको दिन खुल्न थालेको हो । तीन वर्षअघिको गोरखा भूकम्पले बालगोपालेश्वर मन्दिर क्षतिग्रस्त बनेपछि खञ्जनेश्वर मन्दिरमा पनि दिदीबहिनी एवम् दाजुभाइ नहुने भक्तजनको भीड लाग्न थालेको छ ।