TRENDING

नेपाल–भारत मन्त्रीस्तरीय बैठक पनि हुने

काठमाण्डौ । सीमा विवादपछि उत्पन्न गतिरोध अन्त्यका लागि नेपाल–भारतबीच विभिन्न संयन्त्रको बैठक बस्ने तयारी भएको छ । त्यसका लागि काठमाडौं र नयाँदिल्ली आन्तरिक तयारीमा जुटेका छन् । दुवै मुलुकका परराष्ट्र मन्त्रालयका अधिकारीहरूले नेपाल–भारत संवादहीनताका कारण रोकिएको मन्त्रीस्तरीय र सचिवस्तरीय बैठकको तयारी गरिरहेका छन् ।

भारतले नेपालसँगको सम्बन्ध थप कसिलो बनाउन भारतीय राजनीतिमा प्रभाव राख्ने मन्त्रीलाई नेपाल भ्रमण गराउनेसमेत तयारी भइरहेको उच्च स्रोतले दाबी गरेको छ । नेपालसँग बिग्रिएको सम्बन्ध सुधार्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चाहनामा छिट्टै विश्वासिला र प्रभावशाली मन्त्रीलाई नेपाल भ्रमण गराउने तयारी भएको छ ।

त्यस्तो प्रकारको उच्चस्तरीय राजनीतिक भ्रमण उपयुक्त समयमा छिट्टै गराउने तयारी भएको स्रोतले जनाएको छ ।