

काठमाण्डौं । राजाराम इटानीको रगत अरूको शरीरमा बगिरहेको छ । उनकै रगतले धेरैले अहिले पनि सास फेरिरहेका छन् । मृत्युको मुखमा पुगेकालाई पनि इटानीले अस्पतालबाट घर फर्काएका छन् । गाउँको कोही बिरामी परे भने राजारामले नै पहल गरेर उपचार गरिदिन्थे । उनले १ सय ३० पटक रक्तदान गरेका थिए । तर, तीनै समाजसेवी इटानी कहिल्यै नफर्किने गरि बिदा भएका छन् ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका लेखा अधिकृत ५२ वर्षीय राजाराम दसैँमा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका-२ सल्यानटार घर गएका थिए । दसैँ मनाएर टीकाको भोलिपल्ट उनी काठमाडौं फर्किए । बाइकमा आएका इटानीलाई चिसोले समात्यो । स्वास्थ्य असहज भएपछि उनी घरमै आराम गरेर बसे । सोमबार राति ११ बजे उनी बेहोस भए । स्वासप्रस्वासमा समस्या देखिएपछि परिवारले उनलाई रातारात त्रिवि शिक्षण अस्पताल पुर्याए । टिचिङ अस्पताल पुर्याउँदा रातको १२ बजेको थियो ।
‘अस्पताल पुर्याउँदा दाईको अक्सिजनको मात्रा धेरै कम भएको थियो । डाक्टरहरूले आईसीयू चाहिने भन्नुभयो । अस्पतालले आईसीयू छैन भन्यो,’ उनका भाइ नवराजले भने, ‘त्यसपछि हामी अरू अस्पताल खोज्न थाल्यौँ । सहिद मेमोरियलले पीसीआर रिपोर्ट माग्यो । त्यो सम्भव थिएन । मनमोहनमा पनि बेड पाइएन ।’
साढे ४ बजे करुण अस्पतालमा आईसीयू मिल्यो तर त्यहाँ पुर्याउँदा राजारामको स्वास्थ्य नाजुक भइसकेको थियो । उनी मृत्युसँग लडिरहेका थिए । मंगलबार बिहान ६ बजे उनको मुटुको चाल रोकियो । करुण अस्पातलका डाक्टरले परिवारलाई भने, ‘सरी हामीले बचाउन सकेनौँ ।’ उपचारको लागि अस्पताल चहार्दाचहार्दै उनले अन्तिम सास करुणा अस्पतालको शय्यामा फेरे ।
टिचिङ अस्पतालमा नै राखेर उपचार गरेको भए उनलाई बचाउन सकिने परिवारको भनाइ छ । ‘आईसीयू खोज्दाखोज्दै ढिला भयो । टिचिङबाट करुण अस्पताल पुर्याउँदा दाइलाई धेरै गाह्रो भइसकेको थियो,’ नवराजले भने, ‘टिचिङमै पनि आईसीयू खाली थियो भन्छन् । यसले हामीलाई झन् दुखित बनाएको छ । किन दाइको लागि टिचिङले आईसीयू दिएन, अचम्ममा परेका छौँँ ।’
राजाराम २५ वर्षदेखि टिचिङ अस्पतालमा कार्यरत थिए । लेखा अधिकृत राजाराम अस्पतालमा सबैका प्रिय र समाजसेवीका रूपमा परिचित छन् । तर, आफैँले सेवा गरेको अस्पतालबाट उनले उपचार सेवा पाएनन् ।
टिचिङ अस्पतालले भने रातिको समयमा बेड भरिएकाले समस्या भएको बताएको छ । अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीले भने, ‘उहाँको उपचार नभएको त होइन । राति अस्पताल ल्याउदा क्रिटिकल अवस्था थियो । आईसीयूमा बेड खाली थिएन । उहाँको साढुभाइ पर्ने डाक्टरले आईसीयूमा राख्न अर्कोमा लैजानु भएको हो ।’
उनले राजारामले सधै अस्पतालको हितमा काम गरेकोभन्दै उनको निधनप्रति दुःख व्यक्त गरे । ‘उहाँले लामो समय काम गर्नुभयो । नियमले मिल्ने काम गर्ने । नमिल्ने म गर्न सक्दिन भनेर अडान लिने र संस्थाको हितमा काम गर्ने कर्मचारी हुनुहुन्थ्यो,’ प्रवक्ता अधिकारीले भने ।
थुप्रै व्याक्तिको शरीरमा अहिले पनि उनको रगत बगिरहेको छ । आफू नखाएर पनि अरूलाई दिने, गरिब असहायको उपचारमा सहयोग गर्ने र गाउँलेको उपचारमा सघाउने स्वभाव रहेको उल्लेख गर्दै छिमेकी भरत खत्रीले भने, ‘सच्चा समाजसेवी हुनुहुन्थ्यो । गाउँमा उहाँको अभाव खड्किएको छ । गाउँ नै शोकमा डुबेको छ ।’
समाचारबाट थप समाचार
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७