TRENDING

भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरभाने होटल सोल्टीमा

काठमाडौँ । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरभाने  पूर्वनिर्धारित कार्यक्रम अनुसार नेपाल आइपुगेका छन् । पत्नि समेत गरी ४ सदस्यीय टोलीसहित आएका उनलाई विशेष सुरक्षा सतर्कता सहित सोल्टी होटल लगीएको छ । नरभाने को गाडीको अगाडि/पछाडि जंगीअड्डाको सैनिक प्रहरी गणको स्कर्टिङमा  सोल्टी होटल गएका हुन् ।

 

नेपाल भारत सिमा विवादमा नेपाल विरुद्ध बोलका भारतीय सेनाध्यक्ष नरभानेलाई सुरक्षा चुनौति हुन सक्ने आँकलन सँगै चेकजाँच लगायतका सुरक्षामा चासो बढाइएको हो । अहिले उपत्यकामा व्यापक रुपमा सादा पोशाकमा प्रहरी टोली परिचालित गरिएको छ ।

भारतीय सैनिकको विशेष विमानमार्फत त्रिभुवन विमास्थल, काठमाडौँ आइपुगेका उनको आज खासै कार्यक्रम तय भएको छैन भने भोलीका लागि विशेष कार्यक्रमहरु रहेका छन् ।

 प्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा ३ दिने नेपाल भ्रमणमा आएका नरभानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । साथै पशुपतिनाथ मन्दिरको दर्शन गर्ने तयारी समेत रहेको खबर छ ।

नेपाल भ्रमणको अवधिमा उनले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतिसँग समेत औपचारिक भेटघाट गर्ने कार्यक्रम छ ।