TRENDING

महाकाली घटना छानबिनका लागि समिति गठन , भारतिय प्रहरीले तुइनको डोरी काटिदिँदा घटना घटेको स्थानीयको भनाई

काठमाडौं । शुक्रबार तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनाका विषयमा छानबिन गर्न सरकारले समिति गठन गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाँडले गृहसचिवको नेतृत्वमा गृहमन्त्रालयका प्रवक्ता, नेपाल प्रहरीका सुदुरपश्चिम प्रहरी प्रमुख डिआईजी, र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी सम्मिलित छानबिन समिति गठन गर्नुभएको हो । साथै उहाँले जतिसक्दो छिटो सत्यतथ्य बाहिर लेराउन समितिलाई निर्देशन दिनुभएको छ ।

रोजगारीका शिलशिलामा काठमाडौं जानका लागि हिंडेका जयसिंह धामी तुइन तरिरहेका बेला भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले फलामे तार काटिदिँदा सो घटना भएको प्रत्यक्षदर्शीको भनाई छ । यसअघि पनि पटक पटक तुइनको डोुरी काटिदिने र अनावश्यक दुख दिने गरेका एसएसबिले हिजो भने निकै नै अमानविय र क्रुर घटना घटाएका तुइन तार्दै आउनुभएका कल्याणसिंह धामीले बताउनुभएको छ ।

नाताले भान्जा पर्ने कल्याणसिंह धामी मामाको कारुणिक मृत्यू निरिह बनेर टुलुटुलु हेर्नुपरेको बताउँदै भन्छन् – “एसएसबिका २ जना दौडेर आएको देखें , पहिला पनि दु:ख दिने गरेका कारण तुइनलाई क्षति पुर्याउन आएको बुझेर मान्छे तर्दै छ भनेर इशारा गरेँ । तर, उनीहरुले वास्तै नगरी डोरी काटिँदिँदा तुइन तरेर किनारा नजिकै पुगिसक्नुभएको मामा नदिमा खस्नुभयो । ३,४ पटक टाउको माथि देखिंदा किनारा पट्टि जान हामीले इशारा गर्यौ तर एकैछिनमा उहाँ बेपत्ता हुनुभयो । साना भाइबहिनीलाई अब कसले पाल्ने ?”

भारतीय सिमा सुरक्षा बलले दिने दु:खका कहानी हरेक वर्ष झेल्नु परेको बताउने सो ठाउँका स्थानीयले, पक्कि पुल बनाउन सम्झौता भएता पनि पुल नबनेका कारण, तुरुन्त पुल बनाउनका लागि सरकारसँग माग गरेका छन् ।