TRENDING

आज साउन १५ खिर खाएर मनाइँदै

काठमाडौं । आज १५ साउन अर्थात् खिर खाने दिन । नेपालीहरुले घरघरमा खिर खाएर यसलाई मनाउँदैछन् ।

असारको १५ दहिचिउरा खाने साउने १५ खिर भन्ने नेपाली उक्ति सदियौं देखि रहिआएको छ । कृषि प्रधान देश नेपालमा नेपालीहरु कृषि पेशामा आबद्ध हुने हुँदा असार र साउन महिनामा खेत एवं कोदो रोप्दा चिसो लाग्ने भएकोले मसलादार तातो खिरले चिसो जाने विश्वासले खिर खाने गरिएको हो ।

पवित्र आहार मानिने शाकाहारी भोजन खिर दुध , चिनी, चामलमा नरिवल, किसमिस, काजु, बदाम, मरिच लगायतका मरमसला राखेर बनाइन्छ । खिर देवकार्य एवं पितृकार्यमा समेत प्रयोग गर्न सकिने धार्मिक मान्यता रहि आएको छ । चामलका अलावा सावधाना, सेवइ, मकै, गाजरलगायतको खिर बनाउने प्रचलन छ । सावधानालाई फलफूलकै वर्गमा राखिन्छ ।

यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिरसमेत बनाएर खाने चलन छ । खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रही आएको छ ।

अहिले कोरोना महामारीको संक्रमण बढिरहेको समयमा खिर खाने दिनलाई सम्बोधन गर्दै खिर खाँदा शरिरमा रोग प्रतिरोधि क्षमता विकास हुने भन्दै यसलाई मनाउनु उत्तम हुने दुग्ध विकास बोर्डले जनाएको छ ।