TRENDING

गजल

मलाई पनि उसैगरी तिमिलाई ज्यान दिन मन छ
भीरमा फलेको फर्सिलाई भीरमै अल्झिन मन छ

पीडित थियो भने इज्जत बचाउन चुपचाप बस्थ्यो
बलात्कारी हो ऊ जसलाई मर्द भनेर चिनिन मन छ

तिमी इरेजर सहितको पेन्सिल बनेर तिखारियौ
मलाई भने कलमको अक्षर बनेर लेखिन मन छ ।

माकुरो बनि जन्मेथेँ भने जन्माउनेकै ज्यान लिन्थेँ
पुतली बनी जन्मिएँ दियोमा गएर सक्किन मन छ

जुनदिन तिमी अर्कैकी भएर मेरो नजिक आइपुग्यौ
त्यहि दिनदेखि मलाई यो दुनियाँबाटै टाढिन मन छ

तिमिले छाडेपनि मैले सपना देख्नलाई छाड्ने छैन
गाग्रीबाट पो पोखिएँ अब समुन्द्रमा भरिन मन छ ।

                                                            – यात्रीप्रकाश पाण्डे