TRENDING

इन्धनको मूल्यवृद्धि फिर्ताको माग गर्दै पाँच विद्यार्थी संगठनद्धारा थानकोट डिपोमा धर्ना

काठमाडौं । इन्धनमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विद्यार्थी संगठनहरु आन्दोलनरत छन् । यसै क्रममा आज आन्दोलनरत पाँच विद्यार्थी संगठनहरुले काठमाडौंको थानकोटस्थित नेपाल आयल निगमको डिपोमा धर्ना दिएका छन् ।

धर्नामा अनेरास्ववियू (माधव नेपाल समूह), नेविसंघ, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन (उपेन्द्र यादव समूह) र अखिल छैठौंका नेताहरु रहेका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताका लागि असार २९ गतेसम्मको अल्टिमेटम तोकिए तापनि कुनै सुनुवाई नभएपछि आन्दोलनका अगाडि बढाएको र सोहि अनुरुप थानकोटस्थित डिपो रहेको बागमती प्रादेशिक कार्यालय अगाडि धर्नामा बसेको विद्यार्थी संगठनहरुले बताएका छन् ।

साथै इन्धनको मूल्यवृद्धि फिर्ताको माग गर्दै पाँच विद्यार्थी संगठनहरुले आजबाट देशभरका पेट्रोल पम्प, इन्धन ढुवानी ट्यांकर र नेपाल आयल निगमका बिक्री डिपो बन्द गर्ने कार्यक्रम घोषणा गरेका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिइएसम्म आन्दोलन नरोकिने पाँच विद्यार्थी संगठनले चेतावनी दिएका छन् ।

गत असार २८ गते नेपाल आयल निगम र पाँच विद्यार्थी संगठनबीच वार्तासमेत भएको थियो । तर, सो वार्ता विफल भएपछि उनीहरुले दोस्रो चरणको आन्दोलन शुरु गरेका हुन् ।