TRENDING

जाँदाजाँदै प्र.म.ओलीको अन्तिम सम्बोधन

काठमाडौं । आज सर्वाेच्च अदालतद्धारा हटाइएका प्रधानमन्त्रि केपी शर्मा ओलीले सिंहदरबारबाट अन्तिम संवोधन गर्नुभएको छ । जनादेश आफ्नो पक्षमा भएता पनि परमादेश शेरबहादुर देउवाको पक्षमा आएको भन्दै प्रम ओलीले सर्वाेच्चको फैसला माथि प्रश्नैप्रश्न गर्नुभएको थियो ।

अदालतको फैसलामाथि केन्द्रित सो सम्बोधनमा ओलीले इतिहासमै पहिलो पटक अदातलले प्रधानमन्त्री तोकेको व्यंग्य गर्दै अदालतलाई झेली रेफ्रिको संज्ञा दिनुभएको थियो । आफ्नै टिमका साथीहरुले अर्काे टिमको खुट्टामा बल पास गरेको कारण आजको अवस्था आएको उहाँले बताउनुभयो । संसदीय दलको ह्विप उल्लंघन गर्दा कारबाहि नहुने अदालतको फेसलाप्रति आपत्ति जनाउँदै यस्ता फैसलाले पछाडि फर्किने गरी संविधान संशोधन गरेको उहाँको टिप्पणी छ । उहाँले शक्ति पृथकिकरणको सिद्धान्तलाई नकार्दै राज्यका अंगहरुको सन्तुलन खलबल्याएको, एउटै पार्टिका सांसद सत्तापक्ष र प्रतिपक्ष दुबै हुन सक्ने गरी विचित्रको अवस्था सृजना गरिदिएको , आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर राजनितिक विषयमा हात हालेको लगायतका आरोप अदालतलाई लगाउनुभएको छ ।

सो सम्बोधनका क्रममा उहाँले ओली सरकारले गरेका उपलब्धिहरुको चर्चा समेत गर्नुभयो । सरकारले कोरोनाविरुद्धको खोप ल्याउनेतर्फ गरेका कामहरूको विवरण सुनाउँदै ओलीले अब आउने सरकारले खोप लगाएको फोटो हालेर त्यसलाई आफ्नो उपलब्धीका रूपमा देखाउने भविष्यवाणी गर्नुभयो ।

सरकारले १ करोड ३१ लाख मात्र खोप आपूर्ति सुनिश्चित गरेको उल्लेख गर्दै ओलीले भन्नुभयो ‘अब भरे वा भोलि बिहानबाट ल्याइदिएको खोप, लगाइरहेको खोप लगाएको फोटो राखेर हामीले खोप दिन थाल्यौं भनेर तमासा शुरू हुनेछ । मानौं चट गरेर आजै ल्याएका हुन् कि जस्तो । तर, मलाई यस्तो प्रचारमा प्रतिस्पर्धा गर्नु छैन ।’ साथै उहाँले भन्नुभयो , ‘बाँकी अवधि संसद चलोस् मेरो शुभकामना छ । समयमा निर्वाचन होस् शुभकामना छ । तर, मलाई यसमा शंका छ । जे जस्ता घटनाक्रम विकास हुँदैछन्, त्यसले संसद पनि सही सलामत अगाडि जाला र अब बन्ने सरकार सही सलामत ढंगले अगाडि बढ्ला भन्नेमा शंका छ ।’

सम्बोधनको अन्त्यमा आफ्नो पार्टीपंक्तिलाई संयम रहन आग्रह गर्दै ओलीले भन्नुभयो, ‘फेरि बादल हटेर सूर्य उदाउनेछ । हामीलाई बढीमा डेढ वर्ष प्रतिपक्षमा बसाउलान्, त्यसपछि त जनतामा जानैपर्ला । जनताबाट रोक्न कसले सक्छ ’ भन्दै विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका आफ्नो पार्टीका नेताहरूप्रति ओलीले फेरि एकपटक आक्रोश व्यक्त गर्नुभएको थियो । यस्तो गतिविधिलाई अनुशासनहीनता र अपराधको संज्ञा दिँदै भन्नुभयो, ‘हाम्रा पार्टीका साथीहरूबाट विपक्षी खेलाडीलाई बल पास दिने काम भयो । आफ्नो पोष्ट खाली राख्ने र गोलकिपर बस्नै नदिने प्रयाससमेत भयो । यो अत्यन्तै चिन्ताजनक छ ।’