TRENDING

एमाले स्थायी कमिटी बैठक भोलि बस्नेगरी स्थगित

काठमाडौँ । सत्तारुढ नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । स्थायी कमिटीको बैठक आज अपराह्न ४ बजे बालुवाटारमा बसेको थियो ।

पार्टी एकता जोगाउन गठित कार्यदलले तयार पारेको सहमतिको मस्यौदामा हस्ताक्षर हुन नसकेपछि बैठक भोली सोमबारसम्मलाई स्थगित भएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

एकताका लागि थप पहलकदमी लिन बैठक स्थगित गरिएको उहाले बताउनु भयो । उनले भने, ‘हिजो कार्यदलले सहमति पत्र बनाएर फाइनल गरेको थियो । आज हस्ताक्षर गर्ने भनिएको थियो । तर माधवकुमार नेपालका कारण के समस्या आयो हामीले बुझेका छैनौँ । हस्ताक्षर गरेर तयार पारेको डकुमेन्टलाई अनुमोदन गर्न बैठक डाकिएको थियो तर अनुमोदन भएर आउने अवस्था रहेन त्यसैले भोलिका बेलुका बस्नेगरी बैठक स्थगित भएको हो ।’

तामाङले हिजो निकालिएको निष्कर्षमा अलिकति समस्या देखिएको समेत जानकारी दिनु भयो । उहाँले विवाद समाधानका लागि केही समय पर्खनुपर्ने भएका कारण बैठक स्थगित भएको जानकारी दिनु भयो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीका सबै सदस्यलाई बैठकमा बोलाउनु भएको थियो । यद्यपि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने बैठकमा नजाने जनाएको थियो । यसअघि सम्झौतामा हस्ताक्षर भए लगत्तै नेपाल पक्षसहितको स्थायी कमिटी बैठक बस्ने तय भएको थियो ।

अब सर्वोच्च अदालतको फैसला लगत्तै स्थायी कमिटी बैठक बस्ने र त्यसको भोलिपल्ट केन्द्रीय कमिटी बैठक बसेर पार्टी अघि बढ्ने तामाङले बताउनु भयो । साथै वार्ता कार्यदलको सम्झौताको औचित्य पनि लगभग सकिएको उहाँको भनाइ छ ।

सर्वोच्च अदालतमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै विपक्षी गठबन्धनले दायर गरेको रिटमा एमालेका नेपाल पक्ष‍का २३ सांसदले हस्ताक्षर गरेका थिए । अध्यक्ष ओलीले एकता जोगाउन भन्दै २३ सांसदले हस्ताक्षर फिर्ता लिनु पर्ने अडान राख्नुभएको थियो ।